काठमाडौंका २ रुटमा ५० यात्रु क्षमताका बस मात्रै, ३५ टेम्पो र २६ माइक्रोलाई अन्तै स्थानान्तरण

  २०७४ भदौ ३० गते १३:४८     नारायण पौडेल

काठमाडौं । राजधानीका २ वटा रुटमा ५० सिट क्षमताका ठूला बस मात्रै सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं दिगो शहरी यातायात योजनाले एशियाली विकास बैंकसँगको सहकार्यमा राजधानीका २ वटा रुटमा ५० यात्रु क्षमताका ठूला बस मात्रै सञ्चालन गर्ने नयाँ रुट छनौट गरेर सञ्चालनको तयारी गरेको हो ।

१० करोडको लागतमा १७ देखि २५ वटासम्म अपांग मैत्री  बस सञ्चालन गर्ने तयारी अन्तिम चरण पुगेको हो । त्यसका लागि दिगो सार्वजनिक यातायात प्राली कम्पनीको ५ प्रतिशत, एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिनेछ । त्यसमा शहरी विकास कोषले ८० प्रतिशत ऋण दिनेछ । दिगो सार्वजनिक यातायात प्रालीले भने आफ्नो भागमा परेको ५० लाख रुपैंयाँ जम्मा गरिसकेको कम्पनीका सचिव लालप्रसाद गुरागाइँले जानकारी दिए ।

‘३५ वटा टेम्पो र २६ वटा माइक्रोहरुका तर्फबाट ५० लाख रुपैंयाँ जम्मा गरिसकेका छौं, शहरी विकास कोषसँग असोज ३ गते ऋण सम्झौताको तयारी भैरहेको छ’, दिगो सार्वजनिक यातायात प्रालीका सचिव गुरागाईँले भने । कोषले ५ प्रतिशतको ब्याजदरमा ८ बर्षका लागि सहुलियत ऋण दिन लागेको हो । | ऋण सम्झौता भएको ४ महिना भित्रै बस सञ्चालनमा ल्याइसक्ने योजनासहित काम अघि बढेको पनि उनले बताए ।

बस गुड्ने रुट
यसरी ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १० दशमलब २ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।

यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । यी टेम्पो र माइक्रो स्थानान्तरण गरेर उपत्यका भित्रै अर्काे रुटमा पठाईनेछ । ‘एडिबीको सहयोगमा काठमाडौं दिगो शहरी यातायात योजनाले एस ५ नामको रुटलाई ठूला बस मात्रै गुड्ने नयाँ रुटका रुपमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागेको हो’, योजना प्रमुख खड्गलाल श्रेष्ठले भने ।

उनका अनुसार रुटको अध्ययन र यात्रु क्षमता हेरेर नै योजना अघि सारिएको हाे । ‘हामीले एडिबीसँग मिलेर यात्रुको आवागमन, रुटको भौतिक पुर्वाधार र लगानी र लगानी उठ्न लाग्न अनुमानित समय सबै अध्ययन गरेपछि पाइलट प्रोजेक्ट अघि बढाउने निष्कर्षमा पुगेका हौं’, श्रेष्ठले सुनाए ।

६४ रुटको पहिचान
एडिबीसँगको सहकार्यमा योजनाले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सकडालाई बी ग्रेडमा राखिएको छ ।

६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । दशैं अघि पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको सडक भने बी ग्रेडको हो । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो ।

त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् । योजनाले दोश्रो पाइलट रुटका रुपमा किर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क हुँदै चप्पल कारखाना पुग्ने अर्को रुट सञ्चालनबारे छलफल गरेको भएपनि यातायात व्यवसायीले सहमति दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.