विराटनगर । दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले विराटनगरमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।
चिनीमा प्रतिकिलो पाँच रुपैयाँ र नूनमा प्रतिकिलो दुई रुपैयाँ घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए ।
विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो १८ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । बजारमा चिनीको मूल्य प्रतिकिलो ८२ रुपैयाँ तथा नूनको मूल्य २५ रुपैयाँ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ ।
भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट आज मध्याह्न सम्ममा १४ हजार ४१६ रुपैयाँ मूल्य बराबरको १८६ किलो चिनी १० हजार ४५८ मूल्य बराबरको ५८१ किलो नून बिक्री भएको हो । उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ । रासस