बेनी–जोमसोम सडक स्तरवृद्धि,०७६ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य

  २०७४ भदौ २८ गते १४:२६     विकासन्युज

 

बाबियाचौर । म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको स्तरवृद्धि हुन थालेको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनीदेखि जोमसोमसम्मको ७६ किमी दूरीको सडकमा कालोपत्र गर्न थालेको हो ।

आगामी २०७६ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेली ब्रिजलाई विस्थापित गरेर मोटर चल्ने पुल निर्माण गरिने भएको छ । बेनी–घाँसा खण्डका दुईवटा खण्ड र घाँसा–जोमसोमको एउटा खण्डको ठेक्का शर्मायुनाइटेड जेभीले लिएको छ ।

घाँसा–जोमसोम एउटा खण्ड र अर्को एउटा खण्डको काम गर्ने ठेक्का पप्पुतामाङकोशीन्यौपाने जेभीले लिएको छ । चारवटै खण्डमा प्रारम्भिक चरणमा सडक फराकिलो बनाउने काम शुरु गभएको आयोजनाका इञ्जिनियर प्रदीप निरौलाले बताउनुभयो ।
उहाँका अनुसार नालीसहित ११ मिटर चौडाइ रहने सडकको सात मिटर चौडाइमा कालोपत्र गरिने भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गतको म्याग्दी र मुस्ताङ क्षेत्रमा काम गर्न सञ्चालित आयोजनामार्फत गत पुसदेखि शुरु भएको ११० किमी दूरीको जोमसोम–कोरला सडक स्तरवृद्धि योजनाको हालसम्म ३५ प्रतिशत काम सकिएको छ ।

जोमसोमदेखि कोरलासम्मको सडकलाई सातवटा प्याकेजमा बाँडेर ११ मिटर फराकिलो र नाली बनाउने तथा विभिन्न ठाउँमा पुल र पर्खाल बनाउने काम तीव्र बनाइएको छ । यो सडकलाई प्रदेश नं ४ को ‘भाग्यरेखा’ मानिएको छ । सडकका कारण पूर्वाधार विकासका साथै आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले बताए ।

कोरला नाका सञ्चालनबाट आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.