नारच्याङमा जलविद्युत् आयोजनाका काम धमाधम

  २०७४ भदौ २२ गते १६:४२     विकासन्युज

म्याग्दी । जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

नारच्याङमा अहिले ५ वटा जलविद्युत् आयोजनाले निर्माण अगाडि बढाएका छन् । जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएसँगै नारच्याङ छिट्टै जलविद्युत् गाउँका रुपमा विकास हुने भएको छ ।

अन्नपूर्ण हिमालको फेदीबाट बग्ने घलेम्दीखोलाबाट विद्युत् उत्पादन गर्न लागेको घलेम्दीखोला जलविद्युत् आयोजनाले आगामी चैतभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको सो आयोजनाको करिब एक हजार ७ सय मिटर लामो सुरुङ निर्माण सकिएको छ ।

सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै बाँधतर्फ सामान ढुवानी गर्न सकिने भएकाले निर्माण सहज भएको घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताए । सो आयोजना जिल्लाकै लगानीकर्ता र प्रवद्र्धकको प्रयासमा निर्माण हुन लागेको पहिलो आयोजना हो । विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ७५ प्रतिशत पूरा भएको छ ।

आयोजनाबाट २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य छ । आयोजनामा लुम्बिनी र टुरिजम् डेभलपमेन्ट बैंकले ५५ करोड रुपैयाँ लगानी गरेका छन् । सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नारच्याङकै घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना छ ।

नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको काम विगत करिब १ वर्षदेखि दु्रत गतिमा बढेको छ । निलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध रहने यस आयोजनाको २ हजार ३ सय मिटर सुरुङमार्गबाट ल्याइने पानीलाई २ सय ८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको किनारमा रहने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

पूर्वाधार निर्माणमा परिचालन भएको हाई हिमाल हाइड्रो कन्स्ट्रक्सनले अहिलेसम्म ९ सय ६० मिटरभन्दा बढी सुरुङमार्ग निर्माण गरिसकेको परामर्शदाता हाइड्रो कन्सल्ट इन्जिनियरिङका आवासिय इन्जिनियर दिवाकर खड्काले बताए । सन् २०१६ को जुनदेखि पूर्वाधार निर्माण शुरु गरेको उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरीसम्ममा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार काम भइरहेको छ ।

नारच्याङमै निलगिरि खोलाबाट जलविद्युत् उत्पादनका लागि २ वटा आयोजनाको काम अगाडि बढेको छ । ३८ मेगावाटको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यास्केटका प्रवद्र्धकले निलगिरि खोलाको किनार हुँदै सडक निर्माण भइरहेको स्थानीय जनजागरण युवा क्लबका तमबहादुर चोचाङ्गीले बताए ।

नारच्याङमा विसं २०४३ मा निर्माण शुरु भएर २०४४ देखि जिल्लामै पहिलोपटक विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन् ।

दर्ता भएकामध्ये १० मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेको छ भने १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा छन् । लाइसेन्स खारेजीमा परेको १६५ मेगावाट क्षमताको कालीगण्डकी गर्ज डिटेल सर्वेको काम सकेको र करिब ३ सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेकाले उक्त आयोजना लगानीकर्ताको खोजीमा छ ।

जलविद्युत् आयोजनासँगै गाउँमा भौतिक पूर्वाधार विकासले गति लिएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २ सय २० केभी क्षमताको सबस्टेसन तथा ३८ किमी दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण शुरु गरेपछि जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सबस्टेसनको अभावमा यसअघि अनुमति लिएर पनि लामो समयदेखि दर्तामै थन्किनु परेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.