करोडौँ मूल्यको शिलाजीत अलपत्र,आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजीत

  २०७४ भदौ १९ गते १३:१६     विकासन्युज

म्याग्दी । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजीत उत्खनन हुन सकेको छैन ।

शिलाजीत उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्षेनी करोडौँको नोक्सानी भइरहेको छ ।

म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमंगले, मुदी, मुना, ताकम, मराङ, बिमलगायतका पहरामा शिलाजीत पाइन्छ । शिलाजीत उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्मा बताउँछन् ।

नुनिलो र टर्रो स्वाद हुने शिलाजीत भिरपहरामा मात्र पाइन्छ । शिलाजीत कालो र सेतो गरी दुई किसिमको हुन्छ । पहराबाट निस्किएको एकप्रकारको रसायन जमेर शिलाजित बत्रे गरेको बताइन्छ । कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धी रोग निको हुने जनविश्वास छ ।

शिलाजीत को नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्ला आयुर्वेदिक चिकित्सकले बताएका छन् । शिलाजीत उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक १० करोड रुपैयाँसम्मको शिलाजित विक्री हुन सक्ने प्रवल सम्भावना रहेको भएता पनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी व्यापारीहरुको भनाइ रहेको छ ।

बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजीत खेर गइरहेको जिल्ला विकास समिति म्याग्दीले जनाएको छ । बजारमा प्रति १० ग्राम शिलाजीत २५ रुपैयाँदेखि ३० रुपैयाँसम्ममा बिक्री हुन्छ ।

तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र शिलाजीत निर्यात हुनेगरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.