३० मेगावाटको चमेलिया पुसको दोस्रो सातादेखि सञ्चालनमा आउने, प्रतिमेगावाट लागत ५२ करोड

  २०७४ भदौ १८ गते १४:११     विकासन्युज

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले सुदुरपश्चिमको दार्चुलामा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया सबैभन्दा महंगो जलविद्युत आयोजना भएको छ ।

निर्धारित समय भन्दा ६ वर्ष ढिला गरी सकिन लागेको चमेलियाको लागत प्रतिमेगावाट ५२ करोड रुपैयाँ पुगेको छ । यो प्रारम्भीक लागत मात्र हो । वास्तविक खर्च आएपछि आयोजनाको आयोजनाको लागत अझ बढ्ने देखिन्छ ।

 

निजी लगानीमा प्रतिमेगावाट औसत १५ देखि २० करोड रुपैयाँ हारहारीमा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । अन्य आयोजनाको तुलनमा चमेलियाको लागत झण्डै ३ गुणा बढी र हालसम्मको सबैभन्दा महंगो आयोजनामा दर्ज भएको छ । ५२ करोडले ३ मेगावाट जलविद्युत आयोजना सम्पन्न हुन्छ ।

गत आर्थिक वर्ष ०७३/०७४ को असारसम्म चमेलियामा १४ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । काम बाँकी र दावी भुक्तानीलगायत अन्य गरी अझै १ अर्ब रुपैयाँ लगात थप हुने देखिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । विकास न्युजसंग कुरा गर्दे उनले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

अब एक महिनाभित्र (सेप्टेम्बर) काम सम्पन्न गरी ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडले आयोजना हस्तान्तरण गर्ने सहमति भएको उनले जानकारी दिए ।

अहिले आयोजनाको मुल सुरुङमा प्रवेश गर्नका लागि बनाइएको सहायक (अडिट) सुरुङ बन्द गर्ने र सफाइको काम भइरहेको छ । आगामी डिसेम्बरसम्म आयोजना सञ्चालनमा आउने लक्ष्य लिए पनि एक महिना अगावै आउने संभावना रहेको दाहाल बताउछन् । दुई साता परीक्षण उत्पादन भएपछि मात्र व्यवसायीक उत्पादनमा जाने उनको भनाई छ । आयोजनाको सुरुङ भरिन २० दिन लाग्नेछ ।

आयोजनाले सेप्टेम्बर पहिलो साताबाट विद्युत्गृह दार्चुलाको बलाँचबाट कैलालीको अत्तरियासम्मको प्रसारणलाइन परीक्षण गर्ने कार्य सुरु गर्ने भएको छ । दुई हप्तासम्मको अवधिमा यो कार्य सम्पन्न गरिसक्ने लक्ष्य आयोजनाले लिएको छ ।

यस अघि आयोजनाले बलाँचदेखि अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनका पोलको परीक्षण गरिसकेको छ । लाइन परीक्षण गरेलगत्तै पावर हाउस बलाँच र अत्तरियामा निर्माण गरिएको सवस्टेसनको परीक्षण सुरु गरिने कार्ययोजना रहेको दाहालले जानकारी दिए ।

आर्थिक वर्ष २०६३/६४ बाट निर्माण सुरु भएको चमेलिया २०६८ सालमा सम्पन्न गर्ने तालिका भए पनि झण्डै ११ वर्षपछि पूरा हुँदैछ । त्यसबेलामा ७ अर्ब रुपैयाँ लगानीमा ३ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । ठेकेदारसँगको अमिझदारी ,सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्या आदि कारणले ढिलो र लागत बढेको प्राधिकरणको भनाई छ ।

चालु आर्थिक वर्षमा प्राधिकरणले निर्माण गरिरहेको चमेलिया मात्र सम्पन्न हुने भएको छ । चालु आर्थिक वर्षमा सरकारले ८ सय मेगावाट थप बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा निजी क्षेत्रको समेत गरी बढीमा साढे २ सय मेगावाट थप हुने प्राधिकरणले अनुमान गरेको छ ।

गत वर्ष निजी क्षेत्रबाट ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको छ । हालसम्म बिजुली जडित क्षमता ९८० मेगावाट पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.