ललितपुर मोबाइल एक्स्पो सुरु, पहिलो दिनमै १० हजारद्धारा अवलोकन

  २०७४ भदौ १६ गते १८:२४     विकासन्युज

ललितपुर । ललितपुर लगनखेलमा रहेको ललितपुर मल दोस्रो तल्लामा अवस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको मोबाईल मेला आजदेखि शुरु भएको छ । यस मोबाइल मेला २०७४ एक कार्यक्रमका बीच सांसद मदन बहादुर अमात्यले उद्घाटन गरेका हुन् ।

आजदेखि शुरु भएको मोबाइल मेलाको पहिलो दिन करिब १० हजार व्यक्तिले अवलोकन गरेका छन् । उक्त एक्स्पो यहि भदौ २६ गतेसम्म आयोजना हुने भएको छ ।

ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको भन्दै कम्प्लेक्सको वार्षिकोत्सवको अवसर पारेर मोबाइल मेला गर्न लागिएको जानकारी दिए । अध्यक्ष बस्नेतले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल खरिद गर्ने वातावरण बनाउन मेला आयोजना गर्न लागिएको बताए । उनले कम्प्लेक्समा ग्राहकहरुलाई गुणस्तरीय मोबाइल फोनहरु तथा एसेसरिज मात्र बिक्री गरिने दाबी गरेका छन् ।

कार्यक्रममा ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले आर्थिक गतिबिधि बढाउन यो मलले सहयोग गर्ने अपेक्षा गर्दै मल हरेक पुस्ताका ग्राहकहरुको लागि उपयुक्त रहेको बताए ।अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई मोबाइलसँग सम्बन्धित विभिन्न सेवा सुविधाहरु एकै स्थानबाट प्रदान गर्दै आएको छ ।

मोबाइल मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ । मेलाको अवधिभर कुनैपनि मोबाइल वा एसोसोरिज खरिदमा ५ देखि ७० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन् । मेलामा विभिन्न कम्पनीहरुले बजारमा आएका नयाँ स्मार्टफोनहरु पनि सार्वजनिक गरिने छ । यसअघिको एक्स्पोमा विभिन्न कम्पनीहरुले स्मार्टफोन लन्च गरेको र यो पटक पनि नेपालमा भित्रिएका विभिन्न नयाँ स्मार्टफोनहरु सार्वजनिक हुनेछन् ।

ललितपुर मलको दोस्रो तल्लामा कम्प्लेक्समा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आईसकेएका छन् । त्यस्तै कम्प्लेक्समा सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।

मोबाइल मेलामा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, लाभा, कलर्स, ओप्पो, सोनी, वन प्लस ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.