आजदेखि निर्वाचन आचार संहिता लागू, प्रदेश तथा प्रतिनिधि सभा सदस्य चुनाव मंसिरमा

  २०७४ भदौ १४ गते १९:०१     विकासन्युज

काठमाडौं । आजदेखि निर्वाचन आयोगले आचार संहिता लागू गरेको छ । यही मंसीरमा हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचार संहिता, २०७२  लागू गरेको हो।

चुनावलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचार संहिता लागू गरिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले निर्वाचन आचार संहिता आजदेखि लागू गर्ने निर्णय गरेको हो ।

बैठकले यसको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय तथा संवैधानिक निकायहरुलाई जानकारी गराउने समेत निर्णय गरेको छ । निर्वाचन आचार संहिता, २०७२ निम्नानुसार व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ

(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री

(ख) स्थानीय निकाय वा तह

(ग) स्थानीय निकाय वा तहका कर्मचारी

(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी

(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी

(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत्तत् निकायमा कार्यरत सुरक्षाकर्मी

(छ) निर्वाचनको काममा संलग्न कर्मचारी

(ज) सार्वजनिक पद धारण गरेको व्यक्ति ।

उम्मेदवारको हकमा भने यो आचार संहिता मनोनयन दर्ता भएको मिति देखि लागू हुने आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.