परनिर्भरताले व्यापार घाटा बढेर ९ खर्ब १७ अर्ब पुग्यो, ७ प्रतिशत मात्रै निर्यात

  २०७४ भदौ ७ गते १४:१६     विकासन्युज

काठमाडौं । मूलुकमा बढ्दो आर्थिक परनिर्भरताका कारण वैदेशिक व्यापारतर्फको घाटा बढेको छ । एक वर्षमा वैदेशिक व्यापार अन्तर्गतको वस्तु व्यापार घाटा ३०.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

निर्यातको तुलनामा आयात धैरैले बढेका कारण व्यापार घाटा बढेको हो । आर्थिक वर्ष २०७३/२०७४ मा व्यापार घाटा बढी ९ खर्ब १७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा दुई प्रतिशतले बढेको थियो । आर्थिक बर्ष २०७४ मा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भएको छ । तर आयात भने २८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ७३ अर्ब पाँच करोड रुपैयाँको निर्यात हुँदा ९ खर्ब ९० अर्बको आयात भएको छ । अर्थात वैदेशिक व्यापारमा निर्यातको अंश करिब ७ प्रतिशत मात्रै देखिएको छ ।

आर्थिक वर्ष २०७२/२०७३ निर्यातमा १७.८ प्रतिशतले ह्रास आएको थियो । तथापि यस्तो निर्यात आर्थिक वर्ष २०७१÷७२ को ८५ अर्ब ३२ करोड रुपैयाँको स्तरभन्दा न्यून नै छ ।

गत वर्ष निर्यात–आयात अनुपात ७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो । व्यापार घाटा कुल गार्हस्थ उत्पादन (जिडिपी) अनुपात अघिल्लो वर्षको ३१.३ प्रतिशतबाट बढेर गत आवमा बर्षमा ३५.३ प्रतिशत पुगेको छ ।

एक वर्षमा भारततर्फ ५ प्रतिशत, चीनतर्फ १.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.३ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका सामान, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, ऊनी गलैचा, तयारी पोशाक, पोलिष्टर धागो लगायतका वस्तुहरुको निर्यात घटेको छ । जिडिपीमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो बर्ष ३.१ प्रतिशत रहेकोमा समीक्षा बर्षमा २.८ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा कुल वस्तु आयात २८ प्रतिशतले बढेर ९ खर्ब ९०अर्ब ११ करोड रुपैयाँ पुगेको छ । पछल्लिो वर्ष यस्तो आयात ०.१ प्रतिशतले घटेको थियो । गत वर्ष भारतबाट भएको आयात ३२.८ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपुर्जा, एम.एस. विलेट, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री लगायतका वस्तुहरुको आयात घटेको छ । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष ३४.४ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३८.१ प्रतिशत रहेको छ ।

अघिल्लो बर्ष १ खर्ब ४० अर्ब ४२ करोड रुपैयाँको उच्च बचतमा रहेको चालू खाता समीक्षा वर्ष वस्तु आयात उच्च दरले बढेको कारण १० अर्ब १३ करोड रुपैयाँले घाटामा गएको छ । निर्यातको तुलनामा आयातमा उच्च वृद्धि भएकोले अघिल्लो वर्ष उल्लेख्य बचतमा रहेको चालू खाता समीक्षा वर्षमा घाटामा गएको हो । त्यसैगरी, अघिल्लो वर्ष १ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा वर्षमा ८२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.