बाढी प्रभावितलाई पाँच लाख रुपैयाँ दिन माओवादीको माग

  २०७४ भदौ ६ गते १३:४६     विकासन्युज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को नेतृत्वमा पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने भएको छ ।

पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनलाई भव्य र सभ्य बनाउनका लागि पार्टीको सम्पूर्ण पंक्ति परिचालन गर्ने निर्णय गरेको हो । प्रवक्ता पम्फा भुसालले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा प्राप्त शिक्षाका आधारमा २ नं प्रदेशको निर्वाचनलाई थप प्रभावकारी बनाउन पार्टीका तर्फबाट सम्पूर्ण शक्ति परिचालन गर्ने र पहिलो पार्टीका रुपमा स्थापित हुने गरी कार्ययोजनासमेत तयार पारिने जानकारी दिए ।

माओवादीले यसअघि नै नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मातृका यादवलगायतलाई निर्वाचनका विषयमा आवश्यक तयारी गर्न केन्द्रीय प्रतिनिधि परिचालन गरेको थियो ।
यस्तै प्राकृतिक विपत्तिमा परेकालाई तत्काल राहत उपलब्ध गराउन र उचित बसोबासका लागि तत्कालीन राहत रु एक लाख, मृतक परिवारलाई रु तीन लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउन माग गरिएको प्रवक्ता भुसालले जानकारी दिए। बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको ठहर गर्दै माओवादी केन्द्रले प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

यस्तै माओवादी केन्द्रले आदिवासी, जनजाति, मधेसी, महिला र दलित समुदायलाई अधिकारसम्पन्न बनाउन संविधान संशोधन अत्यावश्यक रहे पनि प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०को ‘दम्भ र अहंकार’का कारण सफल हुन नसकेको ठहर गरेको छ । “जनतालाई अधिकार दिन एमाले र त्यसको प्रमुख नेतृत्व जुन तवरले नकारात्मक भयो, त्यसले मुलुकलाई अग्रगमनको दिशामा लैजान बाधा खडा गरेको छ” भुसालले भने “सरकार र सरकारमा रहेका दलले सकारात्मक प्रयास र पहल गरे पनि मुलुकको आवश्यकतालाई ध्यान नदिइनु गलत देखिएको छ ।”

माओवादी केन्द्रले जनताको अधिकार प्राप्तिको संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णयसमेत गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.