मूल्यवृद्धि लक्ष्य भन्द कम, साढे ४ प्रतिशतमा सीमित

  २०७४ भदौ ५ गते १५:२६     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि लक्ष्य भन्दा कम भएको छ । गत आवमा उपभोक्ता मूल्यवृद्धि ४.५ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष मुद्रास्फीति ९.९ प्रतिशत थियो । आर्थिक वर्ष ०६१/०६२ पछि पहिलो पटक वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.५ प्रतिशतमा झरेको हो । गत आवमा उपभोक्ता मूल्यवृद्धि साढे ७ प्रतिशत हुने अनुमान विपरित घटेको हो ।

अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापन आएको सुधार एवम् भारत लगायत विश्वव्यापी रुपमै न्यून मूल्यवृद्धिको प्रभावका कारण समीक्षा वर्षमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

०७४ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.४ प्रतिशत रहेको थियो । उक्त वार्षिक विन्दुगत मुद्रास्फीति २०६१ कार्तिकपछि न्यूनतम हो ।

समीक्षा वर्षमा घिउ तथा तेल, दलहन तथा गेडागुडी, तरकारी, यातायात लगायतका समूहको वार्षिक औसत मूल्यमा कमी आएकोले समग्र उपभोक्ता मुद्रास्फीति न्यून रहन गएको हो । समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर-खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कको औसत वृद्धिदर क्रमशः १.९ र ६.५ प्रतिशत छ । अघिल्लो वर्षमा यी समूहहरुको मूल्य सूचकाङ्कको औसत वृद्धिदर क्रमशः १०.९ र ९.२ प्रतिशत थियो ।

घिउ तथा तेलको मूल्यमा ६, दलहन तथा गेडागुडीको मूल्यमा ५.५ र तरकारीको मूल्यमा २.५ प्रतिशत कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पहाडमा ६.४, तराईमा ४.४, हिमालमा ४.१ र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको छ ।

गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भारतमा ३.४ प्रतिशत र नेपालमा ४.५ प्रतिशत रहेकोले यी दुई मुलुकबीचको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ९.९ र ५.२ प्रतिशत रहेकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर ४.७ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.