अनलाइन प्रक्रियासँगै वैदेशिक लगानीमा वृद्धि

  २०७४ भदौ ५ गते १६:०१     विकासन्युज

काठमाडौं। उद्योग विभागबाट अनलाइन प्रक्रिया शुरु गरेसँगै वैदेशिक लगानीमा वृद्धि हुँदै गएको विभागले जनाएको छ । उद्योग विभागले माघ २ गतेदेखि अनलाइन प्रक्रियाबाट विदेशी लगानी स्वीकृत, भिषा सिफारिश र उद्योग दर्ता शुरु गरेसँगै विदेशी लगानी बढेको हो ।

विभागले सोमबार आयोजना गरेको ‘अनलाइन प्रक्रिया र प्रतक्ष्य विदेशी लगानी’ सम्बन्धी सेवाग्राहीसँग गरेको छलफलमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले मुलुकमा औद्योगिक वातावरण सिर्जना गर्न नीतिगत, संस्थागत र प्रक्रियागत सुधार भइरहेको बताए ।

“औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन, कम्पनी ऐन, पेट्रोलियम अन्वेषण नीति, खानीसम्बन्धी नीतिलगायतले देशमा औधोगिक वातावरण निर्माण गर्न सहयोग पुगेको छ,”- सचिव कोइरालाले भने । प्रत्यक्ष विदेशी लगानीसम्बन्धी विद्येयक निर्माण गर्न मन्त्रालय लागेको उनको भनाइ थियो ।

उद्योग विभागका महानिर्देशक शंकर अर्यालले अनलाइन प्रक्रियाले उद्योग दर्ता प्रक्रियामा सहज भएकाले यसलाई अझ सहज बनाउन विभाग लागेको बताए । “उद्योग दर्ता सहज गराउन डिजिटल हस्ताक्षर लागू गर्ने प्रक्रियामा विभाग लागेको छ,”-महानिर्देशक अर्यालले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समिति संयोजक अन्जन श्रेष्ठले दर्ता प्रक्रिया सहज भएसँगै उद्योग क्षेत्रमा लगानी बढेको भन्दै मुलुकमा रोजगारीको वातावरण सिर्जनामा यसले सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.