परम्परागत तीज, जाँडसहितको दिवा भोज र कट्टु डान्स

  २०७४ भदौ ३ गते १२:०९     सन्तोष बजगाई

तीज एक सांस्कृतिक पर्व हो । हिन्दु धर्मालम्वि नारीहरुको महान पर्व तीज नेपाल लगायत विश्व भर जहाँ जहाँ हिन्दु छन् त्यस क्षेत्रमा मनाईने गरिदै आएको ईतिहास छ । बिशेष गरेर तीज पर्व हिन्दु नेपाली महिलाहरुको एक छुट्टै बिशेष पर्व हो । यो पर्वमा महिलाहरु वर्षौंदेखि टाढिएका दिदी–बहिनी, आमा, भाउजु तथा अन्य आफन्तहरुसंग भेटघाट गर्ने र आफ्ना शुख–दुख साटासाट गर्ने गर्छन । यो पर्व हिमालय पर्वतपुत्री भगवान पार्वतीको पालादेखि नै मनाउदै आईएको विस्वास रहेको छ । पार्वतीले भगवान शिव पति पाउ“ भनि निराहार व्रत गरेको र त्यसै व्रतको प्रभावले गर्दा उनले महादेवलाई पतिको रुपमा पाएको बिस्वास गरी अबिबाहिताले असल पति प्राप्ति होस भनि तथा विवाहहिता महिलाले पतिको दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना गरी व्रत बस्ने प्रचलन रहिआएको छ । आपसमा दिदी बहिनीहरु जमघट भई नाचगान गरी दुखलाई भुलेर शुख साट्ने पर्वका रुपमा तीज मनाउने गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकाले बर्खाभरी खेतीपातीमा व्यस्त रहेका दिदी बहिनिहरु तीज पर्वलाई थकाई मेटाउने पर्वका रुपमा पनि लिने गर्दछन् ।

तर पछिल्लो पुस्ताका दिदी बहिनीहरुले भने यस पर्वको महत्व बिपरित हुनेगरी यस पर्वलाई मनाई रहेकाछन् । तीजको मर्मलाई वास्तै नगरि गरिने अनेक किसिमका गतिबिधिले तीज पर्वको महत्व घट्दो क्रममा रहेको छ । तीज भनेको बिशेषगरी एक सांस्कृतिक पर्व हो । यस पर्वमा आपसमा दिदी बहिनीहरुले आफ्नो दुःख तथा बेदना, पराई घरको भोगाई, सासु तथा नन्द आमाजुहरुको ब्यबहार अनि माईती घर जन्मदिने आमा बुबा तथा दाजुभाई दिदी बहिनीलाई सम्झिएर गीत मार्फत ब्यक्त गर्दथे । तर हाल त्यो प्रचलनमा गिरावट आई तीज पर्व नुन बिनाको तरकारी जस्तै बनेको आभास हुने गरेको छ ।

तीजको अर्को महत्वपूर्ण पक्ष भनेको दर खाने हो । दर भनेको तीजको व्रतको अघिल्लो रात माईती घरमा गएका चेलिबेटिहरुले आमाले पकाएको विभिन्न प्रकारका मिस्ठान्न भोजन, घिउ, खिर आदि खानुलाई दर खाने भनिन्छ । उक्त खानेकुराहरु मध्यरातमा उठेर खाने प्रचलन रहेको छ ताकि त्यो दरको आडले भोलिपल्टको व्रतमा पानी पनि नखाई दिनभर नाचगान रमाईलो गर्न सकुँ । तर हाल दर खाने प्रचलन परिवर्तन गरेर एक, दुई महिना पहिल्यैबाट दर खाने चलन चलेको छ । यस्तो बिकृतिले भोली तीज भन्नेपनि पर्व थियो रे भन्ने दिन नआउला भन्ने ठाउँ छैन । तीजको मर्म तथा महत्वलाई वास्तै नगरि विकृति दिन प्रतिदिन बढिरहेको कुराले सबैको मनमा तरगं पैदा गरेको छ ।

त्यतिमात्र हैन तीज भनेको नाचगानको पर्व पनि हो । सासुले गरेको व्यबहार कर्मघरको दुःख र नारीको बेदनालाई उजागर गरेर गीत गाउने तथा नाच्ने प्रचलन छ । रातो सारी तीजको बिशेष पहिरन हो । रातो सारीमा सजिएकी एक नारी पक्कैपनि राम्री नदेखिने त कुरै हुँदैन । तीजको लागि श्रीमतीलाई रातो सारी र गरगहना किनिदिन पुरुषले पर्देशमा समेत गएर कमाएर आफ्नी संगीनिलाई खुशी बनाउने गरिन्छ । त्यसरी ज्यादै रमाईलो यो पर्व हाल आएर खस्किदै गइरहेको छ । तीज गीतको नाममा परिवारसंग चेलिबेटिहरुसंग समेत संगै बसेर हेर्न नसकिने भिडियो निर्माण गर्ने महिनौ अगाडीबाटै कमाईको लाीि युट्युबमा हाल्ने परम्पराले यस पर्वको खिल्लि उडाईरहेको छ ।

तीजको गीत भनेको सभ्य भाषा सबैले बुझ्ने खालको र नारीको पिर मर्का र बेदनामा रचिएको हुनु पर्ने हो । दुई चार जना भाईरसहरु धनको दम्बमा आफुलाई आम नारीको प्रतिनिधि मानि आम नेपाली नारीहरुको मनमा चोट पु¥याई रहेका छन् । तीजका गीत तीजको कुनै मर्मबिनै बजारमा आउनाले तीज पर्वको भविश्य कमजोर बन्दै गएको छ । यसतर्फ राज्यले ध्यान दिन सकिरहेको छैन ।

कट्टु लगाएर नाचेको गीतलाई तीज गीत भनेर बजारमा ल्याउने चलनले गर्दा तीजको गरिमा दिन प्रतिदिन घटिरहेको आभाष हुन्छ । तीजलाई कमाईको भाँडो सम्झिने कलाकारहरु कुन समाजमा के को लागि म जिउँदै छु सचेत भएर सोचुन, र तीजलाई तीजकै रुपमा मनाउन पाईयोस । दिउँसै जाँड खाएर दर भन्दै हल्लिएर हिड्ने नारीले पनि सोचोस भावी पुस्तालाई हामीले हाम्रो संस्कृति र परम्पराबारे जानकारी गराई उनीहरुलाई सभ्य बनाउनु पर्छ भनेर । र एक दिन हाम्री आमाले मनाए जस्तै तीज होस चेलिबेटिहरुलाई सर्दैव सम्मान गर्न पाईयोस समाजका शिक्षित र बुझेका भनेकाहरुले सोचुन । यो बर्षको तीजले सम्पुर्ण नारी जगतको कल्याण होस चाँडै सतबुद्धि प्राप्त होस सबैमा । त्यसो हुन सकेमात्र नारीलाई लक्ष्मीको रुपमा सम्मान गर्न सकिन्छ ।

बेलकोठगढी ९, नुवाकोट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.