याङग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी राजधानी ल्याउन सरकारको तयारी, मेलम्चीको दोस्रो आयोजनाको काम सुरु

  २०७४ भदौ २ गते ७:४९     विकासन्युज

काठमाडौ । सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाबाट मेलम्चीमा मिसाई राजधानीमा थप ३४ करोड लिटर पानी ल्याउनका लागि आवश्यक सडक संरचनाको प्रारम्भीक काम सुरु भएको छ ।

परामर्शदाता ईप्टसा इन एसोसियसन विथ टीएस, ईसिल्ट टीएमएस जिओकमले प्रारम्भीक वातावरणीय परीक्षण (आईई) को काम सुरु गरेको छ । उसले आईईले पार्ने प्रभावका बारेमा सार्वजनिक सूचना प्रकाशित समेत गरेको छ ।

मेलम्चीको दोस्रो आयोजना अन्र्तगत याङग्रीको बाँधस्थलसम्म पुग्न साढे १० किलोमिटर लामो सडकको स्तरन्नोती, याङग्री–इन्द्रावती दोभानबाट मुहालसम्म पुग्न २.२ किलोमिटर नयाँ सडक र ३ वटा नयाँ स्टिल स्ट्रक्चर पुलको निर्माणका लागि आईई गर्न लागेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यस्तै अर्को साढे ८ किलोमिटर लामो सडकको पनि काम एक साथ सुरु हुने भएको छ ।

याङरी र लार्के खोलाबाट थप पानी आपूर्ति गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको छ । स्पेनको इप्टसा कम्पनीले हाल आयोजनाको अध्ययन र डिजाइनको काम गरिरहेको छ । समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए ।

सरकारले बजेटमा मेलम्ची अन्र्तगतको दोस्रो चरणको खानेपानी आयोजनाको काम सुरु गर्ने भनेको छ । हाल मेलम्चीले दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने छ । याङरी र लार्केबाट थप ३४ करोड गरी कुल ५१ करोड लिटर खानेपानी आपूर्तिको योजना छ ।

समितिले सिन्धुपाल्चोकको रिवर्मादेखि सुन्दरीजलसम्म २७.५ किलोमिटर सुरुङबाट दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङ खन्ने र प्रशोधन केन्द्र निर्माणको काम जारी छ । सुरुङ खन्ने काम अब २ किलोमिटर केही बढी छ । यस्तै सुन्दरीजलमा साढे ८ करोड लिटर पानी प्रशोधन गर्नका लागि दोस्रो प्रशोधन केन्द्रको निर्माण सुरु हुदैछ ।

याङरी र लार्केखोलाको पानी ११ किलोमिटर लामो सुरुङबाट मेलम्चीको मुहान रिवर्मामा मिसाउने गरी काम अघि बढाउन लागेको हो । हालको सुरुङ संरचनाबाट थप पानी आपूर्ति गर्न सकिने देखिएपछि सरकारले याङरी र लार्केबाट थप पानी आपूर्तिको दोस्रो चरणको योजना सुरु गर्न लागेको हो ।

याङरी र लार्केखोलाबाट थप पानी आपूर्ति भएमा राजधानीमा ९ महिना दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुने छ । छनौट हुने परामर्शदाताले २ वर्षभित्र डीपीआर तयार गरेपछि सन् २०१८ को अन्त्यदेखि याङरी र लार्केबाट थप ३४ करोड लिटर पानी आपूर्तिको काम सुरु गर्ने लक्ष्य लिएको छ ।

समय तालिका अनुसार काम भएमा सन् २०२२ सम्म राजधानीमा मेलम्चीबाट ५१ करोड लिटर पानी आपूर्ति हुने छ । याङरी र लार्केबाट थप ११ किलोमिटर डाइभर्ससन सुरुङबाट पानी आपूर्ति गर्न करिव ३० अर्ब रुपैयाँ (३० करोड डलर) लाग्ने देखिएको उनले बताए ।

एसियाली विकास बैंक (एडीबी) ले यो मेलम्चीको दोस्रो आयोजनामा लगानी गर्न तयार रहेको जानकारी गराएको छ । मेलम्चीको मुख्य लगानीकर्ता एडीबी नै हो । एडीबीले मेलम्चीको दोस्रो आयोजनामा लगानी गर्ने भने पनि औपचारिक रुपमा सम्झौता हुन बाँकी छ ।

राजधानीमा मेलम्चीबाट आपूर्ति हुने पानी प्रवाह गर्नका लागि आयोजना कार्यान्वयन निर्देशनालयले भुमिगत पाइप विच्छाउने काम जारी राखेको छ । पाइप विच्छाउने काम अन्तिम चरणमा पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.