प्रधानमन्त्रीलाई संसदको सुझाव-मोदीसँग बाँध व्यवस्थापनबारे छलफल गर्नुस

  २०७४ भदौ १ गते १६:०१     विकासन्युज

काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बाँध व्यवस्थापन र सञ्चालनबारे छलफल गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएको छ । बिहिबार बसेको अर्थ समितिले बैठकले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणका क्रममा बाँधहरुको व्यवस्थापन र सञ्चालनबारे छलफल गर्न सुझाव दिएको सभापति प्रकाश ज्वालाले जानकारी दिए ।

‘नेपालका विभिन्न नदीहरुमा बाँधिएका बाँधको यथोचित र उपयुक्त ढंगले संचालन गरी आगामी दिनमा डुबान, बाढि र कटानको समस्या आउन नदिन सम्माननीय प्रधामन्त्रीज्यूको भारत भ्रमणको समयमा मित्र राष्ट्र भारतसँग दुई पक्षीय वार्ता र कुटनीतिक पहलको माध्यमबाट ती समस्याहरुको दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिने’, समितिले आफ्नो निर्णयमा भनेको छ ।

त्यस्तै, समितिले विपद् व्यवस्थापन विधेयकलाई तत्काल संसदमा पेश गर्न पनि सरकारलाई निर्देशन दिएको छ । प्राकृतिक विपद्हरुको यथोचित नियन्त्रण र व्यवस्थापनको काममा सहजता ल्याउन पनि बिधेयक संसदमा पेश गरेर तत्काल पास गराउने व्यवस्था गरिनुपर्ने अवस्था रहेको सभापति ज्वालाले बताए ।
बैठकमा सांसदहरुले विपद व्यवस्थापनका लागि राज्यले बिधेयक तत्काल पास गरेर एकिकृत संरचनाको निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।

नेपाल भारत सिमा नाका आसपास निर्माण गरिएका बाँधहरुले नेपाली भूभाग डुबानमा परेको भन्दै त्यस्ता बाँध भत्काउनुपर्ने माग गरेका थिए । सिँचाई मन्त्रालयले कोशी, गण्डक र टनकपुर बाँधका ढोकाहरु सञ्चालन सम्बन्धी स्वामित्व नेपाली प्राबिधिकको पहुँच स्थापित गराउन प्रधानमन्त्री देउवालाई १० बुँदे सुझाव दिईसकेको छ ।
सिँचाई मन्त्रालयले बाँधका ढोका समयमै खुल्ला गर्न नपाउँदा नेपाल तर्फ धेरै भूभाग डुबानमा परेको बताउँदै ढोकाका चावी नेपाली प्राबिधिकहरुलाई पनि उपलब्ध गराउनुपर्ने धारणा बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.