बाढी प्रभावित जिल्लाका एनसेल ग्राहकद्वारा १ करोड ६६ लाख भन्दा बढि निःशुल्क एसएमएस आदान प्रदान

  २०७४ भदौ १ गते ९:१२     विकासन्युज

काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको संचार सुनिश्चित गर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवा अन्तर्गत ग्राहकले १ करोड ६६ लाख भन्दा बढि एसएमएस आदानप्रदान गरेका छन् ।

कम्पनीले विपतको बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहयोग गर्नका लागि आइतबारबाट तीन दिनसम्म प्रति दिन प्रति ग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएको थियो । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनअनुसार एनसेलले बाढीपहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवा प्रदान गरेको हो ।

यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो । साथै एनसेल सापटी सेवा अन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरि विद्यमान सेवा शुल्कमै रु ६० सापटी प्रदान गरिएको थियो । यसैगरी कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी आफ्ना प्रियजनसँग सम्पर्क गर्न सघाउनका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको थियो ।

“बाढीपहिरो प्रभावित क्षेत्रलाई लक्षित गरी प्रत्येक दिन प्रदान गरिएको निःशुल्क एसएमएस सेवा, थप सापटीको सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालिन सम्पर्क नम्बरले यो विपदको क्षणमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र राहत तथा उद्धार कार्यमा सहज बनाएको प्रतिक्रिया पाएका छाै,” एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।

प्रभावित क्षेत्रमा पानीको सतह घट्दै गर्दा कम्पनीले थप टावरहरु संचालनमा ल्याएको जानकारी पनि उनले दिए ।

“केहि स्थानमा विद्युत आपूर्ती नरहेको र डिजेल जेनेरेटर संचालन गर्दा जोखिम हुने देखिएको थियो । अहिले एनसेलका ९७ प्रतिशत बिटिएस टावर संचालनमा रहेका छन् र ग्राहकलाई सेवा प्रदान गरिरहेका छन्,” आचार्यले भने ।

प्राकृतिक विपद्का बेला आफ्ना ग्राहकलाई सम्पर्कमा रहन विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै बाढीको जोखिम रहेका क्षेत्रमा आफ्ना ग्राहकलाई बाढी सम्बन्धि पूर्वसूचना अर्थात एसएमएस अलर्ट पनि प्रदान गर्दै आएको छ । यस अन्तर्गत कम्पनीले विगत एक सातामा (साउन २४ देखि साउन ३० सम्म) ६० लाख भन्दा बढि पूर्वसूचना पठाएको थियो ।

नदीमा पानीको सहत अनुसार जल तथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले बाढिपहिरोको जोखिमयुक्त क्षेत्रका ग्राहकहरुलाई एसएमएस सम्प्रेषण गरेको हो । बाढी तथा पहिरोबाट हुने क्षति न्युनिकरण गर्न विभागले एनसेललाई नदीमा पानीको बहाब र जलसहतको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिने गर्दछ ।

समझदारीपत्र अनुसार, एनसेलले वर्षा र नदीमा जल सहतको आधारमा बाढीपहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमला लगायत नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउँदछ ।

एनसेलले गतवर्ष जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । सोही अनुरुप एनसेलले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनीका लागि एसएमएस प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.