चौधरी फाउण्डेसनद्धारा बाढीपीडितलाई राहत वितरण शुरू

  २०७४ साउन ३२ गते १५:१५     विकासन्युज

काठमाडौं । चौधरी फाउण्डेसनले बाढी पीडितहरूलाई तत्काल राहत पुर्याउन प्रभावित क्षेत्रमा खाद्यान्न, औषधी, कम्बल, म्याट लगायतका सामाग्री वितरण शुरू गरेको छ । फाउण्डेसनका छुट्टाछुट्टै टोली सुनसरी, सप्तरी, चितवन, नवलपरासी र बर्दियामा बाढीबाट सर्वाधिक प्रभावित क्षेत्रमापुगी राहतवितरण शुरू गरेका हुन् । बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव भएकाले पीडितहरूमा तत्काल राहत पुर्याउन फाउण्डेसनबाट छुट्टाछुट्टै टोली खटाई राहत वितरण गर्ने निर्णय लिइएको हो ।

चौधरी ग्रुपद्वारा उत्पादित तयारी खानेकुराहरु बाढीपिडितलाई वितरण गरिएको छ । जसमा वाईवाई चाउचाउ, वाईवाई भुजिया, रियो जुस र रियो पानी रहेका छन् । यी खाद्यान्न पीडितका हातमा पर्ना साथ उपभोग गर्न सकिने भएकाले पीडितलाई तत्कालै राहत पुग्ने विश्वास गरिएको छ । यसका साथै पीडितहरुलाई कम्बल, ओछयाउने म्याट पनि वितरण गरिएको फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनले मंगलबार सप्तरी जिल्लाका बाढीबाट सर्वाधिक प्रभावित कदमाहा र जोगिनियामा पुगि राहत वितरण गरेको छ । बुधबार सुनसरीको देवानगञ्ज र हरिनगर लगायत गाउँमा राहत वितरण गरिएको छ । चितवनको दक्षिणी भेग मेघौलीको सुकुम्बासी वस्तीमा पनि राहत वितरण गरिएको छ । त्यसैगरि नवलपरासीको सरावल गाउँपालिकाको भुजवा गाउँमा राहत वितरणका लागि टोली प्रस्थान गरिसकेको छ ।

बर्दियामा प्रमुख जिल्ला अधिकारी बिष्णु थापालाई एक हजार प्याकेट राहत सामाग्री हस्तान्तरण गरिएको छ । स्थानीय प्रशासनले तत्कालै ति सामाग्री बाढीपीडितलाई वितरण गर्ने प्रतिवद्धता जनाएको छ । फाउण्डेसनले काठमाडौं, नवलपरासी र बर्दिया स्थित चौधरी ग्रुपका कार्यालयहरूमार्फत् राहत वितरणको अनुगमन गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा रहेका ग्रुपका डिलर र डिस्ट्रिब्युटरहरूलाई पनि परिचालन गरिएको छ ।

यससँगै फाउण्डेसनले पीडितहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘हेल्थ किट’ पनि वितरण गर्ने तयारी गरेको छ । जसमा अत्यावस्यकीय औषधी लगायत प्राकृतिक प्रकोपका समयमा स्वस्थ रहन सहयोग पुर्याउने सामाग्रीहरु रहनेछन् ।

‘तराई क्षेत्र बाढी र डुवानको चपेटामा परेको छ । हजारौंब्यक्तिको जनधनक्षती हुनुका साथै विस्थापित हुनु परेको छ । यस्तो विपत्तीको समयमा मानवीय सहयोगका हात बढाउनु हाम्रो परम्परा हो’, चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने ‘चौधरी फाउण्डेसन बढीपीडितहरूलाई तत्काल राहत पुर्याउने प्रयासका साथ पीडितहरू समक्ष पुगेको छ । प्राकृतिक प्रकोपको चपेटामा पर्नु भएका महानुभावहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न म सबैमाआव्हानगर्दछु ।’ अध्यक्ष चौधरीले बाढी पीडितको तत्कालिन र दिर्घकालिन व्यवस्थापनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्न पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.