सानिमामाई हाइड्रोको नाफा २८ गुणा बढ्यो

  २०७४ साउन ३२ गते ९:५०     विकासन्युज

काठमाडौ ।  गैरआवासिय नेपालीद्धारा प्रवद्र्धित सानिमामाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा २८ गुणा बढाएको छ ।

गत असारसम्म कम्पनीले २९ करोड २६ लाख रपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९० लाख १५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो । गत वर्ष उसले २८ करोड रुपैयाँ बढी नाफा कमाएको बुधबार सार्वजनिक गरिएको गत आवको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

२२ मेगावाटको माई र ७ मेगावाटको माइक्याकेड आयोजना सञ्चालन गरिरहेको सानिमाले गत आवमा बिजुली बिक्रीलगायत अन्य शिर्षकबाट कुल ८० करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा उसको आम्दानी ४० करोड ३१ लाख रुपैयाँ मात्र थियो । एक वर्षमा सानिमाले आम्दानी दोब्बर बढाएको छ ।

कम्पनीको सेयर पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ । ८२ मेगावाटका दुईटा जलविद्युत आयोजनामा लगानी जुटाउन सानिमाले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको सानिमाले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा लगानीका लागि हकप्रद निष्कासन गरेको छ । हकप्रद निष्कासन साउन २७ गतेदेखि खुला भइसकेको छ ।

हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ ।

तमोर सानिमा इनर्जीले ५४ मेगावाट क्षमताको मध्यतमोर जलविद्युतबाट उत्पादन गर्न अनुमति (लाइसेन्स) पाएको छ ।आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सानिमा समूहले तल्लोलिखु आयोजनाको प्रारम्भीक काम सुरु गरेको छ । स्वेत गंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन लिमिटेडले तल्लो लिखु आयोजना निर्माण गर्नेछ । यो आयोजना बनाउन कम्पनीले लाइसेन्स पाइसकेको छ । विद्युत प्राधिकरणसंग पीपीए भइसकेको छ । यो आयोजना पनि आउदो सन् २०२२ मा सम्पन्न गर्ने प्रवद्र्धकको लक्ष्य छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.