जलविद्युत लगानी तथा विकास कम्पनीः बिजुली निकाल्न उठाएको १० अर्ब बैंकमा राखेर ब्याजबाट नाफा देखाउदै

  २०७४ साउन ३० गते १७:२३     विकासन्युज

काठमाडौं ।  खुट्टाले हिड्नु पर्छ, रेल गुडाउन बनाएको लिकमा रेल नै  गुडाउनु पर्छ र जहाज उडान बनाएको रन वेमा जहाज नै उडाउनु पर्छ । अर्थात जुन उदेश्यले जे संरचनाको निर्माण गरिएको हो, त्यसले सोही काम गर्नु पर्छ ।

तर एउटा यस्तो संस्था छ, जसले जलविद्युत उत्पादन गर्र्न भनेर सरकारबाट पाएको अर्बौ रुपैयाँ बैंकमा निक्षेप राखेर नाफा कमाएको प्रचार गरिरहेको छ ।

जलविद्युतमा लगानी गरेर मुलुकको उर्जा संकट टार्न भनेर सरकारले दिएको ८ अर्ब लगानी गरेको र सर्वसाधारणलाई सेयर बिक्रीबाट २ अर्ब गरी १० अर्ब रुपैयाँ उठाएको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्नो मुल उदेश्यलाई छाडेर बैंकमा निक्षेप राख्दै ब्याज खाएर बसिरहेको छ ।

एउटा उदेश्यका लागि राज्य कोष र नागरिकबाट मोटो रकम उठाएर अर्कै प्रयोजनमा सो रकम लगाउनुलाई गलत अभ्यास मानिन्छ । जस्तो की नेपाल राष्ट्र बैंक र बीमा समितिले बैंक र बीमा कम्पनीलाई व्यवसायीक भवन निर्माण गर्न रोक लगाएका छन् । बैंकले बैंकिङ व्यवसाय र बीमा कम्पनीले बीमा व्यवासय गरेर नाफा कमाउनु पर्छ भन्ने स्पष्ट व्यवस्था छ ।

देशमा जलविद्युतमा लगानी गर्नका लागि स्थापना भएको एचआईडीसीएलले गत आर्थिक वर्ष ०७३÷०७४ मा ४९ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा २५ करोड ४० लाख रुपैयाँ थियो । गत आवमा सरकारबाट प्राप्त बिउँपुँजी (सीड मनी) बैंकका निक्षेप राखेर कुल ७४ करोड ४१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष निक्षेपको ब्याजबाट ५० करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

गत आवमा एचआईडीसीएलले ८० करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । करिव ४ करोड रुपैयाँ कर्जा प्रवाह र शुल्कबाट आम्दानी गरेको र ९० प्रतिशत भन्दा बढी आम्दानीको स्रोत बैंकको ब्याज भएको एचआईडीसीएलले सोमबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ ।

जलविद्युतमा लगानी गर्नका लागि भनेर सरकारले २०६८ साल असारमा एचआईडीसीएलको स्थापना गरेको हो । त्यसबेला एचआईडीसीएलसंग ८ अर्ब रुपैयाँ बिउँपुँजी थियो । स्थापनादेखि उसले जलविद्युतमा लगानी गर्नुको सट्टा बैंकमा मुद्धतीमा निक्षेप राखेर प्राप्त हुने ब्याजबाट नाफा देखाउदै आएको छ ।

अहिले एचआईडीसीएलको चुक्तापुँजी १० अर्ब रुपैयाँ छ । यस्तै उसको संचिती र बचत गरी ९८ करोड ९९ लाख रुपैयाँ पुगेको छ । जबकी उसले हालसम्म जलविद्युत आयोजनामा ७६ करोड २६ लाख रुपैयाँ मात्र लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.