सडक विस्तारमा भत्किने घरको क्षतिपूर्ति बढ्दै, प्रति स्क्वायर फिटको ३ हजार पाइने

  २०७४ साउन २९ गते १८:१२     नारायण पौडेल

काठमाडौं । सडक विस्तारका क्रममा भत्काइने घर तथा भौतिक संरचनाहरुको क्षतिपुर्ति रकम बढ्ने भएकोछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यका भित्र सडक विस्तारका क्रममा भत्काइने घर तथा अन्य भौतिक संरचनाहरु वापत नागरिकलाई दिइदै आएको क्षतिपुर्ति रकम बढाउने प्रक्रिया अघि सारेको हो ।
प्राधिकरणले आइतबार क्षतिपुर्तिको नयाँ दर सम्बन्धी  प्रस्ताव शहरी विकास मन्त्रालययमा दर्ता गराएको हो ।‘हामीले नयाँ दर रेट निर्धारण सम्बन्धी पत्र मन्त्रालयमा दर्ता गराएका छौं, साउन भित्रै नयाँ दर रेट तय हुन्छ’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले भने ।

उनले प्रति स्क्वायर फिटको ३ हजार रुपैंयाँ दिने व्यवस्था प्रस्ताव गरेको बताए । हाल प्रति स्क्वायर फिटको २६ सय रुपैंयाँ क्षतिपुर्ति दिने व्यवस्था रहेको छ ।
‘अहिले प्रतिवर्ग फुट २६ सय रुपैंयाँ दिने व्यवस्था छ, कन्ट्याक्टर लगाउँदा र रास कट्टी गर्दा १८ सय जति पनि हातमा पर्दैन, त्यसले भत्किएको घर बनाउनै नपुग्ने अवस्था देखेपछि नयाँ दर तोक्न प्रक्रिया सुरु गरेका हौंं’, तिवारीले भने । केहि समय अघि मात्रै काठमाडौं उपत्यकाका तीनै जिल्लाका जन निर्वाचित प्रतिनिधीहरुले सडक विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गरेको थिए । तर क्षतिपुर्ति रकम बढाउनुपर्ने उनीहरुको सर्त थियो ।

‘जनप्रतिनीधिले सडक विस्तारमा सघाउँछु भनेका छन र क्षतिपुर्ति दर बढाउनुपर्ने माग छ ।’, तिवारीले भने । हालसम्म उपत्यकाका तीन जिल्लामा ३५० किलोमिटर सडक विस्तार सम्पन्न भएको छ । सोमध्ये २६३ किलोमिटर काठमाडौंमा, ५७ किलोमिटर ललितपुरमा र ३० किलोमिटर भक्तपुरमा सम्पन्न भएको हो । काठमाडौंमा १०० किलोमिटर, ललितपुरमा २० किलोमिटर र भक्तपुरमा १० किलोमिटर सडकमा विस्तारका लागि चिनो लगाएर राखिएको पनि उनले बताए । प्राधिकरणले काठमाडौंमा ४०० किलोमिटर, ललितपुरमा १३७ किलोमिटर र भक्तपुरमा १३० किलोमिटर गरि कुल ६३० किलोमिटर सडक विस्तारको योजनामा अनुसार काम गरिरहेको छ ।

हालसम्म सडक विस्तारकै क्रममा क्षतिपुर्तिका लागि मात्रै २ अर्ब ९४ करोड खर्च भएको तिवारीले जानकारी दिए । सो रकममध्ये ७५ प्रतिशत रकम घरको क्षतिपुर्तिमा लागेको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.