उर्जा बैंक स्थापना गर्न भारतको ‘ग्रीन सिग्नल’, सचिवस्तरिय बैठकमा छलफल हुँदै

  २०७४ साउन २९ गते १५:१६     विकासन्युज

काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि बिजुली व्यवस्थापन गर्न नेपालले ऊर्जा बैंक स्थापनका लागि भारतसंग प्रस्ताव गरेको छ ।

गत साता भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत् आदन–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी) बैठकमा नेपाल विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेच्ने र हिउँदमा किन्ने गरी ऊर्जा बैंक स्थापनाको प्रस्ताव गरेको हो । नेपालको प्रस्तावलाई भारतीय पक्षले सकरात्मक रुपमा लिएको विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।

आदनप्रदान समिति बैठकले आउदो नेपाल–भारत सचिवस्तरिय संयुक्त स्थायी समिति बैठक (जेसीडब्आर) मा छलफल गर्ने सहमति भएको उनले जानकारी दिए । विद्युत प्राधिकरणले आफनो तर्फबाट राखेको प्रस्तावलाई भारतीय पक्षले सकरात्मक रुपमा लिएको उनको भनाई छ ।

आउदो जेडीडब्आर बैठकमा यस विषयमा सहमति हुने संभावना रहेको उनले जानकारी दिए । आउदो सचिवस्तरिय बैठकमा उत्तरप्रदेशबाट नेपाल जोड्ने १३२ केभी क्षमताका ३ वटा प्रसारणलाइन र २ वटा ३३ केभी प्रसारणलाइन निर्माणको विषयमा पनि छलफल हुने अधिकारीले बताए ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षादको ४ महिना बढी हुने बिजुली व्यवस्थापन गर्न नेपालले ऊर्जा बैंकि स्थापनाको अवधारणा ल्याएको हो ।

माथिल्लो तामाकोसीलगायत अन्य केही ठुला आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि ०७६ देखि वर्षादको ४ महिना बिजुली उत्पादन बढी हुने प्रक्षेप्रणका आधारमा प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेचेर सुख्खायाममा भारतबाट खरिद गर्न ऊर्जा बैंक स्थापना गर्न लागेको अधिकारीले स्पष्टपारे ।

कुलेखानी बाहेक सबै आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका भएकाले मंसिर, पुस, माघ, फागुन, चैत, बैशाख र जेठसम्म नदीको पानी वहाव घटेपछि यसको असर विद्युत उत्पादनमा ७० प्रतिशतसम्म कमी आउने गरेको छ । तामाकोसी आएपछि वर्षादमा बिजुली छेलोखेलो भएपनि सुख्खायामा उत्पादन घटेर केही घण्टा लोडसेडिङ हुने अवस्था छ ।

सरकारले चालु आवमा विद्युत उत्पादन ८ सय थप गर्ने लक्ष्य लिएको छ । गत आवमा ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएपछि जडित क्षमता ९८० मेगावाट पुगेको छ । हालसम्मको उत्पादन गरी ३ वर्षभित्र विद्युतको उत्पादन जडित क्षमता २ हजार १ सय मेगावाट नाघने अनुमान गरिएको छ ।

आउदो ०७५ सालको असार अन्तिमसम्म बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसीको पहिलो युनिटबाट बिजुली उत्पादन हुदैछ । सोही वर्षको मंसिरसम्म तामाकोसीको ५ वटै युनिटको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्धारित लक्ष्यमा केही महिना ढिलाइ भएपनि ०७५ भित्र तामाकोसी पुर्ण रुपमा सञ्चालनमा आइसक्ने छ ।

योजनामा रहेको निर्धारित आयोजना सम्पन्न भएमा आउदो सन् २०२१ को अन्त्यसम्ममा भारतबाट बिजुली आयात बन्द हुनेछ । केही वर्ष ऊर्जा बैकिङमार्फत ऊर्जा आपूर्तिलाई सन्तुलनमा ल्याई आगामी सन् २०२१ को अन्त्यदेखि भारतबाट बिजुली आयात बन्द गर्ने योजना तयार भएको अधिकारी बताउछन् ।
नेपाल–भारत अन्तरदेशिय प्रसारणलाइन अन्र्तगतको ढल्केबर सवस्टेशन आउदो कात्तिकभित्र २२० केभीमा सञ्चालनमा आउने छ । ढल्केबरमा कम क्षमताको सवस्टेशनका कारण हाल १३२ केभीबाट १४५ मेगावाटसम्म विद्युत प्रवाह भइरहेको छ । २२० केभीमा चार्ज भएपछि सो लाइनबाट २ सय मेगाावाट बिजुली आदनप्रदान गर्न सकिने छ ।

आगामी २ वर्ष भित्र सवस्टेशनलाई ४ सय केभीमा स्तरोन्नोती गर्ने लक्ष्य लिइएको छ । ४ सय केभीमा स्तरोन्नोती भएपछि १ हजार २ सय मेगावाट बिजुली आदनप्रदान हुने छ । लोडसेडिङ हटाउन यो वर्ष मात्र भारतबाट ५ सय मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य प्राधिकरणको छ । गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो । विद्युत आदनप्रदान समिती बैठकले नेपाललाई थप १ सय मेगावाट बिजुली दिने सम्झौता गरेको छ ।

३ वर्षमा विद्युत् प्राधिकरण अन्र्तगतको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी, चिलिमे हाइड्रोपावर लिमिटेड अन्र्तगतको १११ मेगावाटको रसुवागढी, १५ मेगावाटको सान्जेन, ४२ मेगावाटको तल्लो सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना सम्पन्न हुदैछन् । यस्तै विद्युत प्राधिकरणले आफनो लगानीमा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना आउदो ६ महिनामा सम्पन्न हुदैछन् ।

यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, ४२ मेगावाटको मिस्त्रीखोला, २० मेगावाटको माथिल्लो मोदी, ८२ मेगावाटको तल्लोसोलु, ८६ मेगावाटको सोलु दुधकोसी, २३.५ मेगावाटको माथिल्लो सोलु, सिंगटी, खारे खानीखोलालगायत झण्डै २ दर्जन आयोजना आउदो ३ वर्षमा सम्पन्न हुदै छन् ।

लिखु नदीमा १५७ मेगावाट क्षमताका ३ वटा आयोजनाको निर्माण सुरु भएको छ । विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको त्रिशुली ३ ए आयोजना ३ वर्षमा सम्पन्न हुदै छ । आगामी हिउँददेखि १४० मेगावाटको तनहुँ अर्धजलासययुक्त आयोजनाको काम सुरु हुदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.