चिनियाँ टोलीद्धारा नुवाकोटकाे साततले दरबार क्षेत्रको अध्ययन हुँदै

  २०७४ साउन २९ गते १५:०७     विकासन्युज

नुवाकोट । भूकम्पले क्षति पुर्याएको ऐतिहासिक साततले दरबार क्षेत्रको पुनःनिर्माणको जिम्मा लिएको चीनले नुवाकोट दरबार क्षेत्रको अध्ययन गर्न थालेको छ । चिनियाँ वरिष्ठ इञ्जिनीयरको टोलीले दरबार क्षेत्रमा भत्किएका संरचनाको पुनःनिर्माणका लागि प्राविधिक अध्ययन थालेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले बताए ।

चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज नामक संस्थाका तर्फबाट वरिष्ठ इञ्जिनीयरसहितको आठ जनाको टोलीले दरबार क्षेत्रको अवस्था सर्भे गर्न थालेको कार्यालय प्रमुख फुयाँलले बताए । “गत साता नुवाकोट दरबार क्षेत्रको तुलजा भवानीको मन्दिर भत्किएको समाचार सार्वजनिक भएपछि चिनियाँ टोलीले चासो दिएको हो” फुयाँलले भने, “नुवाकोटको पुरातात्विक संरचना जोखिममा रहेको निक्र्योल गरी टोली लागत इस्टिमेटका लागि आएको हो ।”
अहिले टोलीले साततले दरबार र दरबार क्षेत्रको आधा दर्जनभन्दा बढी पुरातात्विक महत्वका मठमन्दिर र दरबारको अध्ययन गरिरहेको छ । चिनियाँ टोलीले साततले दरबार, गारद घर, रंगमहल, तुलजा मन्दिर, लामपाटी, सेतापाटी, नारायण मन्दिर र विष्णु मन्दिरको सर्भे गर्न प्रारम्भ गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले विसं १८१९मा पृथ्वीनारायण शाहद्वारा निर्मित साततले दरबार क्षेत्रको पुरातात्विक महत्वका संरचनाको क्षति पुर्याएको थियो । दरबार क्षेत्रको प्रमुख आकर्षण साततले दरबारमा क्षति पुगेको छ भने तुलजा मन्दिर, गारद घरलगायत भने भत्किएको छ । भूकम्प गएको २७ महिनासम्म पनि पुनःनिर्माणमा चासो नहुँदा दरबार बर्खाको पानीले गर्दा कमजोर बन्दै गएकाले तत्काल पुनःनिर्माण गर्नुपर्ने फुयाँलले बताए ।

नुवाकोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल दरबार क्षेत्रका सम्पदाको तत्काल पुनःनिर्माण नगर्ने हो भने सम्पदा नै नष्ट हुने भएकाले सरकारले प्राथमिकता दिनुपर्ने नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताए । “जुन देशले सहयोग गर्ने भनेको छ त्यो देशलाई तत्काल काम गर्ने वातावरण बनाउनुपर्छ” उनले भने, “भूकम्पले थङथिलो भएको सम्पदाले दुई बर्खा झेलिसकेको छ । बर्खाको पानी पसेर भएको संरचना पनि भत्किन थालेको छ ।”

गत साता दरबार क्षेत्रमा रहेको मल्लकालीन तुलजा भवानीको मन्दिर अविरल वर्षाका कारण भत्किन थालेको छ भने गारद घर पनि भत्किन थालेको छ । दरबार क्षेत्रका सम्पदामध्ये भैरवी मन्दिर मात्र पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.