नेपाल एयरलाइन्सका एयर होस्टेजको उचाई २ इञ्च घट्यो

  २०७४ साउन २३ गते ११:५७     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले एयर होस्टेजहरुको हाइट(उचाई) घटाएको छ । एयरलाइन्सले हालसम्म ५ फिट ४ इञ्च हाइट भएका एयर होस्टेज मात्रै लिँदै आएको थियो । अब भने एयरलाइन्सले ५ फिट २ इञ्च उचाई भएका एयर होस्टेजहरु पनि लिन लागेको हो । २ इञ्च उचाई घटाएर एयरलाइन्सले २० जना एयर होस्टेज मागेको छ ।

एयरलाइन्सका प्रवक्ता शैलेश कंसाकारले आवश्यकता अनुसार एयर होस्टेजको आवेदन नआएपछि उचाई घटाएको बताए ।‘हामीले मागे अनुसार एयर होस्टेजको आवेदन नपरेपछि उचाई घटाएका हौं’, कंसाकारले भने । एउटै एयरलाइन्समा २ थरी उचाई भएका एयर होस्टेजहरु राख्ने अभ्यास पनि हुन्छ र ? भन्ने प्रश्नको जवाफमा उनले भने–माग अनुसार आपुर्ति नभएपछि उचाई नै घटाएर पनि काम चलाउँनै पर्यो ।

एयरलाइन्सले पाँचौं तहका २० जना एयर होस्टेजका लागि आवेदन मागेको थियो । प्लस टु उतिर्ण गरेका १८ देखि २५ बर्ष उमेर समुहका युवतिहरुले आवेदन दिन सक्ने व्यवस्था थियो । नेपाल एयरलाइन्स श्रोतले भने लाखौंको आर्थिक चलखेलमा एयर होस्टेजहरुको उचाई घटाइएको आरोेप लगाएको छ ।‘एक जनासँग १० औं लाखसम्म असुलिएको सुनेका छौं, एउटै एयरलाइन्समा २ खाले उचाई भएका एयर होस्टेज राखेर कम्पनी डुबाउन खोजिँदैछ’, श्रोतले भन्यो ।

साउन १९ गतेसम्म आवेदन दिने म्याद रहेको थियो भने अब लिखित परिक्षाको तयारी भैरहेको छ । एयरलाइन्सको अर्काे श्रोतका अनुसार केहि व्यक्तिहरुका आफन्तलाई जागिर खुवाउने योजना अनुसार उचाई घटाउने काम भएको हो ।‘केहि मान्छेका आफन्तलाई जागिर खुवाउने योजना अनुसार उचाई घटाउने काम भएको सुनेका छौं, हामी व्यक्ति पत्ता लगाउने प्रयासमा छौं’, नेपाल एयरलाइन्स श्रोतले भन्यो ।

नेपाल वायु सेवा निगमको सञ्चालक समितिले नै एयर होस्टेजको उचाई घटाउने गरि कार्यबिधी संसोधन गरेको पनि प्रवक्ता कंसाकारले जानकारी दिए ।
अन्तराष्ट्रिय मान्यतालाई अघि सारेर एयर होस्टेजको उचाई घटाइएको पनि उनले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.