तीन सय ५६ नयाँ उद्यमी थप

  २०७४ साउन २१ गते १५:४५     विकासन्युज

तेह्रथुम । गत आर्थिक वर्षमा तेह्रथुममा ३५६ जना नयाँ लघु उद्यमी थपिएका छन् । म्याङलुङ्ग नगरपालिकासहित छथर र आठराई गाउँपालिकामा ढाका, मुढा, वनस्पति कोइला निर्माण, दुग्ध परिकार उत्पादन, ऊनी झोला, हौजियारी, सिलाइकटाइलगायत विभिन्न विषयका २५१ महिलासहित ३५६ जना लघु उद्यमी थपिएका हुन् ।

जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिमार्फत सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत म्याङलुङ नगरपालिकाका सबै वडा, आठराई गाउँपालिकाका–२ खाम्लालुङ, वडा नं ६ चुहानडाँडा र वडा नं ७ थोक्लुङ तथा छथर गाउँपालिका–२ हमरजुङमा विभिन्न विषयका रोजगारमूलक तालीम सञ्चालन गरिएको थियो ।

ती तालीममा सहभागी भएर रोजगारीमूलक सीप सिकेका गृहिणी महिला तथा युवाहरु नै अहिले उद्यमीका रुपमा स्थापित भएको जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख दीपक पौडेलले बताए ।

तालीममा सहभागी भएर सीप सिकेकाले व्यावसायिक योजना नै बनाएर व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरुलाई व्यावसायिक योजना निर्माण र सञ्चालनका सम्बन्धमा समेत तालीम दिइएको साझेदार संस्था दलित सचेतना समाज नेपालका निर्देशक कुमार विशंखेले जानकारी िदए।

उनकाअनुसार सीप सिकेका गृहिणी महिला तथा युवाले साना व्यवसाय थालेका छन् । ढाका कपडा बुनाई सिकेका महिला उद्योग खोलेर बसेका छन् भने सिलाइकटाइ सिकेका महिलाले पनि व्यवसाय थालेका छन् । मुढा बुनेर गाउँका उद्यमीले घर खर्च चलाइरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.