हकप्रद खारेज गर्ने साहाराको साधारण सभा रोकियो, राप्तीभेरी विकास बैंक कारवाहीमा

  २०७४ साउन ८ गते १८:१५     विकासन्युज

काठमाडौं । अब भने एउटा साधारण सभाबाट हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेर अर्काे साधारण सभाबाट खारेज गर्न नपाउने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले जेठ १२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको निर्णय कार्यान्वयन गर्नैपर्ने व्यवस्था अघि सारेको थियो । सोही दिन बिशेष साधारण सभा गरेको जनता बैंकलाई भने सो नियमले छोएको थिएन् ।

यसबिचमा साहारा विकास बैंकले हकप्रद सेयर निष्काशन गर्ने पुर्ववत निर्णय खारेज गर्न डाकेको बिशेष साधारण सभा रोकेको छ । साहारा विकास बैंकले पनि हकप्रद सेयर निष्काशन गर्ने अघिल्लो साधारण सभाको निर्णय उल्टाउन असार ३१ गते बिशेष साधारण सभा बोलाएको थियो तर सूचना प्रकाशित गरेर साधारण सभा नै रोकेको छ ।

साहाराले २०७३ पुस २९ गते सम्पन्न छैठौं साधारण सभाबाट एक बराबर २.५० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।
उता, राप्तीभेरी विकास बैंकले भने असार १७ गते नेपालगञ्जमा बिशेष साधारण सभा गरेर हकप्रद सेयर निष्काशन गर्ने अघिल्लो साधारण सभाको निर्णय खारेज गरेको छ । राप्तीभेरीले २०७३ भदौ १७ गतेको साधारण सभाबाट एक बराबर २ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । ‘बैंकले असार १७ गतेको साधारण सभाबाट हक प्रद सेयर निष्काशन गर्ने निर्णय खारेज गरेका छौं’, साहारा विकास बैंकका कम्पनी सचिव कमल प्रसाद रावतले विकासन्युजसँग भने ।

उता, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने राप्तीभेरी विकास बैंकको सेयर रजिष्ट्रेशन रोक्ने बताए ।‘हामीले बैंकलाई लेखेर हकप्रद सेयर जारी गर्ने निर्णय कार्यान्वयन गरेर मात्रै अन्य काम अघि बढाउन भनेका छौं, त्यस्तो गरिएन भने उनीहरुलाई बोर्डले दिने अनुमति र सेवा सुबिधा बन्द गरिन्छ’, धितोपत्र बोर्डका प्रवक्ता गिरीले भने ।

उनले हकप्रद सेयर जारी गर्ने साधारण सभाको निर्णय कार्यान्वयन नगर्ने कम्पनीहरुको सेयर कारोबार रोक्का गर्नसम्मको चेतावनी पनि दिए ।‘एउटा साधारण सभाबाट हकप्रद निष्काशन गराउँछौं भन्ने अनि अर्काेबाट खारेज गर्ने कुराले लगानी कर्तालाई ठुलो अन्याय हुन्छ, हामी त्यसलाई हेरेर बस्न सक्दैनौं, निर्देशन कार्यान्वयन नगर्ने कम्पनीलाई कारवाही हुन्छ’, गिरीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.