होमस्टे सञ्चालनका लागि १३ लाख हस्तान्तरण

  २०७४ साउन ८ गते ११:२६     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित खैरकन्द्रा सामुदायिक घरवास ‘होमस्टे’ स्थापनार्थ १३ लाखरुपैयाँको पूँजी कोष शनिबार हस्तान्तरण गरिएको छ ।

त्रिशक्ति मध्यवर्तीे उपभोक्ता समितिको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमअन्र्तगत होमस्टे स्थापनाका लागि पूँजी कोष हस्तान्तरण गरिएको हो ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले १३ लाख रुपैयाँको चेक होमस्टेका अध्यक्ष पुरन चौधरीलाई हस्तान्तरण गर्दै होमस्टे स्वरोजगारको माध्यम भएकाले पर्यटन व्यवसायलाई बढावा दिई आर्थिकरुपमा समृद्ध बन्न सघाउने बताए।

पूँजी कोषमार्फत प्राप्त रकमको लक्षित कार्यका लागि खर्च गरी सदुपयोग गरिनु पर्ने उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले गाउँमा बसेकै आधारमा पर्यटकको सेवा गर्नुपर्ने भएकाले दिगो पर्यटनको आधार होमस्टे हो भने ।

सञ्चालन हुन गइरहेको होमस्टेबाट थारु गाउँ नजिकै निकुञ्ज क्षेत्रमा पर्यटकले घाँसे मैदान, सिमसार क्षेत्र, ताल तलैया र जीवजन्तुको अवलोकनसँगै थारु संस्कृति र रहनसहनसँग घुलमिल हुने मौका पाउने छन् । उनले भने – “यसबाट पर्या पर्यटन व्यवसायले फस्टाउने मौका पाउने छ ।”

लोप हुँदै गएको संस्कृति जोगाउन, मौलिक पहिचान स्थापित गर्न र ऐतिहासिक वस्तुको संरक्षणमा योगदान दिनका लागि होमस्टे गतिलो माध्यम हुने बताइएको छ । पूँजी कोषको रकम होमस्टे सञ्चालनका लागि पैँचोका रुपमा वितरण हुने र पालैपालो न्यून ब्याजदरमा लगानीकर्ताले लगानी गर्न पाउने छन् ।

तत्कालका लागि १० घरघुरीले होमस्टेमा आउने पर्यटक राख्नका लागि नयाँ घर निर्माण गरेका छन् । दर्ता प्रक्रियासँगै विधान, निर्देशिका निर्माणको काम पूरा भएकाले होमस्टे आउँदो हिउँददेखि शुरु हुने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.