३५ अर्बको बोनस सेयर सूचिकृत, हकप्रद सेयर १८ अर्ब

  २०७४ साउन ६ गते १३:४८     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७४ जेठ मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ३५ अर्ब ९ करोड रुपैयाँ बराबरको बोनस शेयर सूचिकृत भएको छ । जुन रकम धितोपत्र सूचिकृत मध्ये सबैभन्दा बढी हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको एघार महिनामा कुल १२१ अर्ब ८५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । त्यसमध्ये १८ अर्ब ८४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको साधारण शेयर नेप्सेमा थिपिएका छन् । त्यस्तै, सोही अवधिमा ६२ अर्ब बराबरको सरकारी ऋणपत्र र १ अर्ब २५ करोड बराबरको म्युच्युअल फण्ड गरी सो मात्राको धितोपत्र सूचीकृत भएका छन् ।

२०७४ जेठ मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । जुन संख्या अघिल्लो वर्षको भन्दा १८ संख्या कम हाे। २०७३ जेठ मसान्तमा (अघिल्लो वर्ष) सूचीकृत कम्पनीहरूको संख्या २३० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको राष्ट्र बैंकले जनाएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १६९ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १४ वटा जलविद्युत् कम्पनी, ४र४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् ।

नेप्सेमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक विन्दुगत आधारमा ४४.४ प्रतिशतले वृद्धि भएको छ । चुक्ता पूँजी सो मात्राले वृद्धि भई गत आर्थिक वर्षको एघार माहिनामा २८३ अर्ब १६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.