बाहिरी चक्रपथ निर्माणः उपभोक्ता समितिले ट्रयाक खोल्ने, चीनले बनाउने

  २०७४ साउन ६ गते ९:११     विकासन्युज

काठमाडौं । बाहिरी चक्रपथ निर्माण गर्न उपत्यका विकास प्राधिकरणले जग्गा रोक्काको सार्वजनिक सूचना जारी गर्ने अन्तिम गृहकार्य गरिरहेको छ ।

जग्गा रोक्का गर्ने, अधिग्रहण गरेर साइट क्लियर गर्ने तथा सोही क्षेत्रका उपभोक्ता समितिमार्फत २ वर्ष भित्रमा सडकको ट्रयाक पनि खोल्ने भएको छ । पहिलो चरणमा जग्गा रोक्काको तयारी भइरहेको चोभारदेखि सतुङगलखण्डको ६ किमी सडकको लागि विभिन्न १२ वटा उपभोक्ता समिति गठन हुने भएको छ ।

जग्गा रोक्का राखेपछि प्राधिकरणले पहिलो सर्त नै उपभोत्ता समितिमार्फत काम गर्ने भनेर तय गरेकोले सोही अनुसार काम हुने पनि बाहिरी चक्रपथ विकास आयोजनाका प्रारम्भिक अधिकारी ध्रुव सापकोटाले बताए ।

उनका अनुसार हामीले उपभोक्ता समितिमार्फत सडकको ट्रयाक मात्रै खोल्ने हो । बाँकी सडक काम गरेर व्यवस्थित सहर विकास गर्ने गरी सडक तथा भौतिक पूर्वाधारको काम चिनियाँ कम्पनीले गर्ने भएको छ ।

उपत्यकाको बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनी रुचि देखाएको र आवश्यक प्रक्रिया अगाडि बढाउन चाहेको छ । सरकारले चिनियाँ कम्पनीलाई निर्णय गर्न दिने भनेर निर्णय मात्रै गर्न बाँकी रहेको ।

बाहिरी चक्रपथको पूरै ७२ किमी नै बनाउने गरी चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्ट्रक्सन ग्रुप कर्पोरेशनले यसालाई निर्माण गर्ने भएको छ । एसोसिएसनले सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणमा बाहिरी चक्रपथ निर्माण योजनाको आशयपत्रसमेत पेस गरिसकेको बाहिरी चक्रपथ विकास अयोजनाले जानकारी दिएको छ ।

चिनियाँ कम्पनीले ७० प्रतिशत अनुदान दिने
चिनियाँ कम्पनीले बाहिरी चक्रपथ बनाउँन जति रकम लाग्छ त्यसको ७० प्रतिशत अनुदान दिने भएको छ । बाँकी ३० प्रतिशत रकम मात्रै सहुलियत ऋणमा दिने र यसको सावा तथा व्याज मात्रै तिरे पुग्ने प्रस्ताव गरेको छ । सहुलियत ऋण बढीमा २ प्रतिशतसम्मको मात्रै हुन्छ ।

बाहिरी चक्रपथ चिनियाँ कम्पनी बनाउन तयार रहेकोले पनि प्राधिकरणले साइट क्लियर गरेर उक्त कम्पनीलाई निर्माणको जिम्मा दिइने गरी अहिलेसम्मको तयारी भएको हो ।

यो आयोजनाको निर्माण गर्न दिने विषयमा नेपाल र चीन सरकारबीच सम्झौता हुनुपर्ने र सरकारी निर्णयले सोही कम्पनीलाई दिन सक्ने छ । नेपाल आफैंले बनायो भने दश १५ वर्षमा पनि यो आयोजना पूरा हुने सुनिश्चित आधार छैन ।

नेपालमा भएको अहिलेसम्मको विकास निर्माणको अवस्थाले गर्दा भएको यो समस्याको समाधान गर्न सरकारी रकम खर्च नगरी समयमा नै र गुणस्तरीय कामको लागि चिनियाँ कम्पनीके प्रस्ताव उपयुक्त रहेको पनि उल्लेख छ ।

यो आयोजनाको पहिलो खण्डको रुपमा प्राधिकरणको बाहिरी चक्रपथ विकास आयोजनाले चोभारदेखि सतुंगलसम्मको ६ किमि सडकका लागि जग्गा अधिग्रहण गर्ने भएको छ ।

१३ हजार सात सय ६४ कित्तामा जग्गा पर्ने यो क्षेत्रमा आगामी दुई वर्षसम्म कुनै संरचना बनाउन नपाइने र कित्ताकाट पनि नहुने गरी जग्गा रोक्का हुँदैछ । यो आयोनजा दुई वर्षमा नै पूरा गरेर व्यवस्थित बस्तिसहित जग्गा फिर्ता हुने आयोजनाले जानकारी दिएको छ ।

६ वटा ब्लकमा १२ उपभोक्ता समिति
आयोजनाले हरेक एक किमिका लागि एउटा ब्लक गरेर ६ वटा ब्लक तयार गरेको छ । एउटा ब्लकमा दुईवटा उपभोक्ता समिति गठन गर्ने र ६ वटामा १२ वटा उपभोक्ता समिति गठन गर्ने प्रक्रिया पनि अगाडि सारेको छ ।

काम छिटो गर्न र समयमान नै सम्पन्न गर्न पनि हरेक एक किमीको ब्लक र त्यसमा २ वटा यस्तो समिति बन्ने छ । प्रत्येक समितिलाई कम्तिमा ६० लाखदेखि एक करोड रुपैयाँसम्म बजेट दिने र काम धमाधम अगाडि बढाउने तयारी पनि बाहिरी चक्रपथ विकास आयोजनाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.