एक वर्षमा ३२ अर्ब १३ करोडको सुनचाँदी आयात

  २०७४ साउन ५ गते ११:४०     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७३/७४ मा ३२ अर्ब १३ करोड रुपैयाँको बहुमूल्य धातु तथा पत्थरको आयात भएको छ । गएको वर्ष भएको बहुमूल्य धात तथा पत्थरको आयात अघिल्लो आव २०७२/७३ को तुलनामा ८ अर्ब ६ करोडले बढी हो । अघिलो वर्षमा २४ अर्ब ७ करोड रुपैयाँको बहुमूल्य धातु तथा पत्थरको आयात भएको छ । आव २०७१/७२ मा ३१ अर्ब ७७ करोड को यस्ता बहुमूल्य धातु तथा पत्थर आयात भएका थिए ।

औसत खर्चयोग्य आयमा आएको सुधार, समाजका केही समूहको आर्थिक हैसियतमा भएको परिवर्तन र त्यस्ता वस्तुहरूको मूल्यमा भएको कमीका कारण आयातको आकार बढेको सम्बन्ध क्षेत्रका विज्ञहरू बताउँछन् । सरकारले चालु आवको करिब तीन महिना जति सुनको कोटो थपेर २५ किलो अन्य समयमा दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था मिलाएसँगै सुन आयात बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिक रत्न शाक्यले बताए ।

पछिल्ला वर्षहरुमा नेपालमा विलासी वस्तुहरूको खपत वर्षेनि बढ्दै गएको छ । त्यस्ता वस्तुको खरीदमा ठूलो धनराशी विदेशिने क्रम पनि बढेको छ । औपचारिक रूपमा भन्सार नाका भएर नेपाल भित्रिएको सुन, चाँदी, हीरालगायतका बहुमूल्य धातु र पत्थरहरूको तथ्याङ्कले यस्तो देखाएको हो । अवैध बाटो भएर भित्र्न सुनको त कुनै लेखाजोखा नै छैन । त्रिभुवन विमान स्थलजस्तो सुरक्षा निकाय बलियो स्थानबाट त नेपालमा अवैधानिक सुन भित्रन्छ भने विशेष गरी चीनको नाकाबाट अझ बढी अवैधानिक सुन नेपाल भित्र्ने गरेको अनुमान गरिएको छ ।

बहुमूल्य धातु तथा पत्थर आयातले सरकारी राजस्व बढ्न सहयोग गरे पनि हजार ९ सय औसत प्रतिव्यक्ति राष्ट्रिय आय भएको देशमा वर्षेर्नी यति ठूलो रकमको बहुमूल्य धातु तथा पत्थरजस्ता विलासी वस्तुमा खर्च हुनु राम्रो नभएको अर्थशास्त्रीहरू बताउँछन् । ‘यसबाट वार्षिक ठूलो धनराशी अनुत्पादक क्षेत्रमा थन्किएको स्पष्ट हुन्छ । यो धनराशी उत्पादनमूलक क्षेत्रमा लगाउन सके देशले आर्थिक विकासमा ठूलै टेवा पुग्ने र आम जनताको जीवनस्तरमा सुधार आउने थियो ।

सुनलाई नगदजस्तै तरल सम्पत्तिका साथै लगानीको साधनका रूपमा लिएर वर्षैपिच्छे यसको सञ्चय बढाउने प्रवृत्तिले पनि त्यस्ता वस्तुहरूको आयात बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘सुनचाँदीलगायतका बहुमूल्य धातुहरूको प्रयोग हिन्दूहरूको सामाजिक रीतिरिवाज र धर्मसंस्कृतिसँग जोडिएकाले पनि त्यस्ता वस्तुहरूमा आकर्षण बढेको हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.