नेपाल टेलिकमद्धारा ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा आईसीटी सेन्टर स्थापना

  २०७४ साउन २ गते १६:०५     विकासन्युज

काठमाडौं । भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा आ.व. २०७३/७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना गरिएको छ ।

नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा ३० जीबी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

कम्पनीले शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मा.वि. पानीमुण्डे बनेपा, सगरमाथा मा.वि. ओखलढुङ्गा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मा.वि. सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो । सोलुखुम्बुको जीवन ज्योति मा.वि. नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । सो अनुरुप नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एक/एक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको छ । यी आईसीटी सेन्टरमा विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.