नारायणगढ मुग्लिन सडकखण्डमा २९ ठाउँमा पहिरोको जोखिम

  २०७४ साउन २ गते ७:०४     विकासन्युज

चितवन । प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैनु, नारायणगढ काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भने । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन्। नारायणगढ मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे ।

बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छु, उनले भने ज्यानको माया मारेर हिँड्नुपरेको छ । खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उनको भनाइ छ । यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन । पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उनले सुनाए ।

२८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो । त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो । त्यसपछि पनि दुईपटक म्याद थपिएको छ ।

त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो । सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ । अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ । वर्षातको समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन् ।

विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ । ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । खाल्डो नपुर्दा जोखिम बढेको छ ।

दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन् । उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ । ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन् । सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन् । आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो ।

इच्छाकामना ६ कालिखोलाका गौबहादुर गुरुङले हिजोआज पहिरो खसेको दृश्य सामान्यजस्तैु लाग्न थालेको बताए । बाटो बनाउनेले नै बिगारेका हुन्, भत्किने भए पहिल्यै भत्किन्थ्यो, उनले भने । अन्नपूर्ण पोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.