मौद्रिक नीतिले ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धिदर ल्याउन सघाउँछ: शिवाकोटी

  २०७४ साउन १ गते १८:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको चालु आर्थिक वर्षमा लक्ष्य गरेको ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न सहयोगी हुने मौद्रिक नीति तर्जुमा गरेको छ ।

आइबीएन मिडिया एण्ड रिसर्च तथा नेपाल बैंकर्स संघ संयुक्तरुपमा आइतबार राजधानीमा आयोजना गरेको मौद्रिक २०७४/७५ विषयक अन्तर्क्रिया कार्यक्रममा उत्पादनशील क्षेत्रमा बैंकहरुको कर्जा लगानी वृद्धि तथा केन्द्रीय बैंकबाट प्रदान गरिने पुनर्कर्जा सुविधा विस्तारले सरकारले लक्ष्य गरेको आर्थिक वृद्धिदर हासिल गर्न सहयोगी हुने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी बताउँछन् ।

सरोकारवालाहरुले उत्पादनशील क्षेत्रमा कर्जा बढाउने केन्द्रीय बैंकको नीतिले देशभित्र उत्पादन वृद्धि, रोजगारी सिर्जना मार्फत् गरिबी न्यूनीकरण तथा व्यापारघाटा घटाउन मद्दत पुग्ने बताएका छन् ।

केन्द्रीय बैंकले मौद्रीक नीतिले कर्जा विस्तारमा अंकुश नलगाएको भन्दै बैंक तथा वित्तिय संस्थाहरुलाई निक्षेप संकलनको आधारमा संयमित भएर लगानी गर्न प्रेरित गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बताए ।

निक्षेप तथा कर्जा दुवैतर्फ ब्याजदर अस्वभाविक ढङ्गले वृद्धि हुँदै गएको सन्दर्भ उल्लेख गर्दै नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले स्वभाविक ब्याजदर वृद्धिले मात्र स्वस्थ अर्थतन्त्रलाई टेवा पुर्याउने बताएका छन् ।

त्यस्तै, बीमा समितिका अध्यक्ष चिरंजीवि चापाइगाई सहित उद्योग व्यवसायीका साथै विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघको बैंकिङ्ग समितिका सभापति अनलराज भट्टराईले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.