ठूलो लगानीमा क्यान्सर अस्पताल

  २०७४ असार ३० गते १३:४६     विकासन्युज

चितवन । निजी क्षेत्रमा क्यान्सरको समेत उपचार गराइरहेको यहाँको एनपिआई नारायणी सामुदायिक अस्पतालले ठूलो लगानीमा छुट्टै क्यान्सरको विशेषज्ञ अस्पताल सञ्चालन गर्नेभएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व अध्यक्ष र कार्यकारी निर्देशक रहिसक्नुभएका डा भक्तमान श्रेष्ठको नेतृत्वमा रहेको नारायणी सामुदायिक अस्पतालले नेपालमै सबैभन्दा ठूलो लगानीमा अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालन गर्न लागेको हो ।

नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार बर्सेनि नेपालबाट ४० प्रतिशत क्यान्सरका बिरामी विदेश उपचार गर्न जाने गर्दछन् । ती बिरामीलाई समेत रोक्न सक्ने गरी अत्याधुनिक अस्पताल सञ्चालन गरिने उनले बताए ।

अस्पताल सञ्चालनका लागि भरतपुर महानगरपालिका–९ गोन्द्राङस्थित राजमार्गबाट एक किलोमिटर दक्षिणतर्फ तीन बिगाहा ६ कठ्ठा जमिनसमेत खरिद गरिसकिएको छ । करिब २ अर्ब लगानी गरी तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याइने श्रेष्ठले बताए।

हाल नारायणी सामुदायिक अस्पतालमा १८० जना लगानीकर्ता रहेका छन् । यसको मातृ संस्थाको रुपमा नेपाल पोलिटेक्निक इन्स्टिच्यूट एनपिआई रहेको छ । एनपिआई समूहले अस्पतालको नेतृत्व गर्नेछ । यो समूहभित्र झण्डै ७०० लगानीकर्ता रहेको अस्पतालका सञ्चालक चुडामणि खनालले बताए ।

विशेषज्ञ चिकित्सक र स्थानीय वासीलाई लगानीका लागि आह्वान गरिएको छ । नपुग रकम बैंकबाट ऋण लिइने खनालले बताए । अस्पताललाई प्राइभेट लिमिटेडको रुपमा विकास गरिने जानकारी दिँदै खनालले सर्वसाधारणका लागि पनि शेयर दिइने बताए ।

अस्पतालमा मानिसको शरीरमा क्यान्सर भए नभएको पत्ता लगाउने पेटस्क्यान, रेडियोथेरापीको अत्याधुनिक मेसिन आइजिआरडी, टाउकोको रेडियोथेरापी गर्ने गाफानाइफ, क्यान्सरको जेनेटिक थेरापी गर्ने उपकरण लगायतका अत्याधुनिक उपकरण र शल्यक्रिया कक्ष हुने अध्यक्ष श्रेष्ठले बताए ।

भविष्यमा रोवट सर्जरी गर्ने लक्ष्यका साथ अस्पताल स्थापना गर्न लागिएको उनको भनाइ छ । यससँगै अस्पतालमा मुटुरोग र मृगौला रोगको पनि विशेषज्ञसहितको उपचार गरिने छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि ४० देखि ४६ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.