अलैँची ब्लकलाई पिकअप भ्यान र ट्रयाक्टर

  २०७४ असार ३० गते ११:०८     विकासन्युज

इलाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देउमाई नगरपालिकामा सञ्चालित अलैँची ब्लक कार्यक्रमलाई ४० लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय इलाममा बुधबार आयोजित कार्यक्रममा देउमाई ब्लक सञ्चालक समितिका अध्यक्ष राम रानालाई एक पिकअप भ्यान र एक ट्याक्टरको साँचो स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले हस्तान्तरण गर्नुभयो ।

परियोजनाअन्तर्गत ८५ प्रतिशत अनुदानमा पिकअप ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराइएको वरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ शाहले जानकारी दिए ।

पिकअपको मूल्य २१ लाख र ट्याक्टरको १८ लाख परेको कार्यालयले जनाएको छ । अलैँची ब्लक कार्यक्रममा साना सिँचाइलाई ५ लाख, नर्सरी निर्माणमा ६ लाख, कस्टम हायरिङ सेन्टरलाई १५ लाख, पोष्ट हार्भेस्ट सेन्टर निर्माणमा २० लाख, माटो परीक्षण शिविरलाई ६० हजार रुपैयाँ र बीउ बेर्नाका लागि ६० हजार रुपैयाँ उपलव्ध भएको शाहले बताए ।

इलाममा परियोजनाअन्तर्गत सूर्योदय नगरपालिकाको आठघरेमा तरकारी ब्लक र देउमाई नगरमा अलैँची ब्लक सञ्चालनमा रहेका छन् । आठघरे तरकारी ब्लकमा यसअगाडि नै ३ वटा पिकअप भ्यान हस्तान्तरण गरिसकिएको छ । २ हजार रोपनी क्षेत्रफलमा कुनै एक बालीलाई आधुनिकीकरण गरी यान्त्रीकरणतर्फ उन्मुख गराउनका लागि परियोजना सञ्चालन हुँदै आएको छ ।

यस्तै, जिल्लामा धान, मकै, अदुवा, तरकारी लगायतका क्षेत्रमा २५ वटा पकेट कार्यक्रम सञ्चालनमा रहेका छन् । रासस
––––––––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.