दूधको उत्पादनमा सहकारीलाई १९ लाख अनुदान

  २०७४ असार २८ गते १३:४८     विकासन्युज

बनेपा। कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई  १८ लाख ७५ हजार  रुपैयाँ प्रदान गरिएको छ ।

सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई  १२ लाख ३४ हजार  रुपैयाँ र उमादेवी दुग्ध उत्पादक सहकारीलाई रु ६ लाख ४० हजार उपलब्ध गराइएको हो । दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिए ।

सहकारी मार्फत अहिलेसम्म कृषकले सबैभन्दा बढी रु सात हजारसम्म रकम बुझेका छन् । सरकारले कृषकलाई उत्पादनमा प्रति लिटर एक रुपैयाँ अनुदान दिने भएपछि जिल्लाका १२ वटा दुग्ध सहकारी संस्था रकमका लागि छनोट भएका थिए ।

“गोठ, भकारो, घाँस उत्पादन लगायतका क्षेत्रमा लगानी गरेपनि खासै उपलब्धि मूलक भएन,” डा श्रेष्ठले भने। एक वर्षको दूध उत्पादनको अवस्था हेरेर दुग्ध सहकारी मार्फत कृषकलाई अनुदान दिइने उनले बताए।

मूल्याङ्कन समिति मार्फत छनोट गरिएका बनेपा रविओपीको देउराली दूध उत्पादक सहकारीले रु २० लाख ९ हजार, पाँचखाल अनोकोटको अनेकोट दुग्ध उत्पादक सहकारीले रु चार लाख १० हजार, मण्डन देउपुर नगरपालिका महादेव स्थानको रानीटार दुग्ध उत्पादक सहकारीले रु ६ लाख २३ हजार, पाँचखाल नगरपालिकाको शिखरपुर श्रीराम पाटी दुग्ध उत्पादक सहकारीले रु दुई लाख १६ हजार तथा देउपुरको ब्रम्हयणी दुग्ध उत्पादक सहकारीले रु एक लाख ८३ हजार वार्षिक अनुदान पाउने छन् ।

त्यस्तै धुलिखेल स्थित कालिदेवी दुग्ध उत्पादक सहकारीले रु दुई लाख ९० हजार, ज्याम्दीको ठूल्दीवँेसी दुग्ध उत्पादक सहकारीले रु तीन लाख ५४ हजार, मण्डन देउपुरको इन्द्रवती बहुउद्देश्यीय सहकारीले रु दुई लाख ७० हजार, मङ्लटार स्थित तिमाल महाभार बहुउद्देश्यीय सहकारीले रु नौ लाख ७८ हजार र देवी पन्चकन्या बहुउद्देश्यीय सहकारीले रु दुई लाख ४७ हजार अनुदान पाउने कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.