देशैभर जग्गा कारोबारमा मन्दी, तरलता अभावको असर देखियो घरजग्गामा

  २०७४ असार २८ गते ६:५७     विकासन्युज

काठमाडौं । तरलता अभावका कारण बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा कडाइ गरेपछि यो व्यवसाय प्रभावित भएको छ।

बैङ्कहरूले लगानीयोग्य रकम (तरलता)को अभावमा कर्जा प्रवाहमा कटौती गरेपछि देशैभर घरजग्गा कारोबारमा पुसदेखि कमी आएको हो।

उपत्यकाका मालपोत कार्यालयको राजस्व सङ्कलन मङ्सिरको तुलनामा पुसमा ९ करोड रुपैयाँ घटेको थियो । पुसभन्दा माघमा थप ७ करोड रुपैयाँ घटेको छ।

त्यस्तै, फागुनमा घट्ने क्रम तीव्र बन्दै माघको तुलनामा १५ करोड रुपैयाँले कमी आएको छ । चैत महीनामा फागुनको तुलनामा ४ करोड रुपैयाँ बढेको छ भने वैशाखमा चैतको तुलनामा २३ करोड रुपैयाँले कमी आएको छ । जेठ महीनाको राजस्व सङ्कलन भने वैशाखको तुलनामा ११ करोड रुपैयाँले बढेको छ । समग्रमा हेर्ने हो भने पुसपछि उपत्यकाका मालपोत कार्यालयको राजस्व सङ्कलन ओरालो लागेको देखिएको छ।

गत आर्थिक वर्ष (आव) २०७२—७३ को ११ महिनाको तुलनामा चालू आवको ११ महिनामा ८ करोड रुपैयाँले राजस्वमा कमी आएको छ । बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा कडाइ गरेकाले जग्गा खरीद विक्रीमा कमी आएको भूमिसुधार तथा व्यवस्थापन विभागका निर्देशक सुशीलप्रसाद आचार्य बताँउछन् । उनको भनाइसँग घरजग्गा एजेण्ट सङ्घ नेपाल (रियान)का केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेल पनि सहमत छन्।

चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकाका चारओटा मालपोत कार्यालयले जग्गाको मूल्याङ्कन २० प्रतिशतसम्म बढाउँदा पनि गत आवको तुलनामा रजिष्ट्रेशन दस्तुर घटेको छ । उपत्यकामा चक्रपथबाहिरका जग्गाको कारोबार गर्ने साँखु, मनमैजु, भक्तपुर र लगनखेल मालपोत कार्यालयले १० देखि २० प्रतिशतसम्म मूल्याङ्कन बढाएका छन् । चक्रपथसँग जोडिएका र चक्रपथभित्र भएका जग्गाको मूल्याङ्कन भने यथावत् छ । कलङ्की, चाबहिल र डिल्लीबजार मालपोत कार्यलयले गत आवकै मूल्याङ्कनलाई निरन्तरता दिएका छन्।

राजधानीका मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै कारोबार गर्ने डिल्लीबजारमा चैत महीनाकोे तुलनामा वैशाखमा झण्डै ९ करोड रुपैयाँ राजस्व घटेको थियो।

वैशाखको तुलनामा जेठमा भने ७ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । डिल्लीबजारजस्तै मनमैजुको पनि वैशाखको तुलनामा जेठमा १ करोड रुपैयाँ राजस्व बढेको छ । मालपोत कार्यालय साँखुले वैशाखको तुलनामा जेठमा ९४ लाख रुपैयाँ बढी राजस्व उठाएको छ । त्यस्तै, मालपोत कार्यालय टोखाले वैशाखको तुलनामा ४ लाख रुपैया कम राजस्व उठाएको छ । चैतको तुलनामा जेठमा भने टोखाबाहेकका उपत्यकाका सबै मालपोत कार्यालयबाट कम राजस्व सङ्कलन भएको छ।

बैङ्क तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको १० महिना अवधिमा घरजग्गा क्षेत्रमा २ खर्ब ९३ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका छन् । असारसम्ममा घरजग्गा क्षेत्रमा २ खर्ब ५० अर्ब ९० करोड रुपैयाँ लगानी भएको थियो । यसमा १ करोडभन्दा कमको आवासीय कर्जासमेत समावेश गरिएको राष्ट्र बैङ्कले जानकारी दिएको छ। अभियान दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.