कलात्मक घर बनाउने भूकम्प पीडितलार्इ थप ५० हजार अनुदान दिने प्राधिकरणको घोषणा

  २०७४ असार २६ गते १६:५३     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित विभिन्न पुरातात्विक तथा पर्यटकीय महत्वका प्राचीन बस्तीहरुको संरक्षण गर्न त्यहाँ बन्ने निजी आवासलाई थप ५० हजार रुपैया दिने लगायतका प्रोत्साहनको प्रस्ताव अघि बढाएको छ ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा वस्तीमा प्राचीन स्वरुप झल्कनेगरी पुनर्निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्न यस्तो प्रस्ताव गरेको हो । प्राधिकरणले काठमाडौंको साँखु, ललितपुरका खोकना तथा बुंगमती तथा गोरखाबजारको गोरखा दरबार तथा संग्रहालय क्षेत्र, नुवाकोटको दरबार क्षेत्र एवम् दोलखाको भीमेश्वर मन्दिर वरिपरिको बजार क्षेत्रमा रहेका करिब तीन हजार निजी घरलाई प्राचीन स्वरुप झल्किने गरि कलात्मक बनाएर पुनर्निर्माण गर्ने गरि थप सहयोगको प्रस्ताव अघि सारेको हो ।

यससम्बन्धी प्रस्ताव यही २८ गते बुधबार बस्ने निर्देशक समितिको बैठकमा प्रस्तुत हुनेछ र समितिबाट पारित भएपछि कार्यान्वयनमा जानेछ । खासगरी घरको अगाडि पट्टिको भाग प्राचीन स्वरुपमा निर्माण गराउन प्रोत्साहन गर्न प्राधिकरणले परम्परागत इंटा खरिदमा ५० हजार रुपैंया सहुलियत दिने योजना अघि सारेको छ । त्यस्तै, प्राधिकरणले त्यसरी घर निर्माण गर्दा काठमा सहुलियत दिन तथा नक्सा पास निःशुल्क गर्न स्थानीय तहलाई सिफारिस गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको छ ।

प्राधिकरणले शताब्दीऔं पुरानो परम्परागत स्वरुपलाई कायम राख्दै त्यहाँको कला तथा संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले प्राचीन स्वरुपमा घर बनाउन प्रोत्साहन गर्दै आएको छ । त्यहाँको पर्यटकीय संभावना र पर्यटनमार्फत् जीविकोपार्जनमा पनि टेवा पुग्ने भएकोले प्राचीन स्वरुपमा घर निर्माण गर्न प्रोत्साहन होस् भनेर यसप्रकारको निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले बताए ।

यी सबै ६ वटा प्राचीन बस्तीमा नेवार समुदायको बाहुल्यता छ । यी सबै नेपालका पर्यटकीय क्षेत्र पनि हुन् । साँखु काठमाडौंबाट १७ किलोमिटर उत्तर पूर्वी कुनामा रहेको प्राचीन नेवार वस्ती हो । शंख आकारको यो बस्ती अहिले शंकरापुर नगरपालिकामा पर्छ ।

त्यस्तै, बुंगमती र खोकना बस्ती ललितपुरको रिंगरोड क्षेत्रबाट दक्षिण पश्चिम आठ किलोमिटरको दूरीमा छ । खोकना विश्व सम्पदा सूचीका लागि सिफारिसमा परेको क्षेत्र हो । महत्वपूर्ण पर्यटकीय क्षेत्रको संरक्षण गर्न स्थानीयलाई प्रोत्साहन गर्न सके त्यसले अन्ततः राष्ट्रको पहिचान र आम्दानीमा नै टेवा पुग्न प्राधिकरणको विश्वास छ ।

प्राधिकरणको ६२ औं कार्यकारी समितिको बैठकले प्राचीन बस्तीहरुको सम्पदाको संरक्षण तथा व्यवस्थापनका लागि लिन सकिने उपायबारे अध्ययन गर्न कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्मा एवं डा. हरिराम पराजुली रहेको कार्यदल बनाएको थियो । कार्यदलले गरेको सिफारिसमा टेक्दै प्राधिकरण कार्यकारी समितिले नयाँ प्रस्ताव तयार गरेको हो ।

सम्पदा संरक्षण तथा पर्यटकीय महत्वलाई ध्यानमा राखेर प्राधिकरणले प्राचीन सम्पदायुक्त दरबार तथा अन्य संरचनाको यथासंभव प्रबलीकरण गर्न जोड दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.