मेलम्ची ल्याउन भत्काएको सकड पूरा नहुँदै बिजुलीका तार भूमिगत गर्न फेरि सडक खनिदै, उपत्यकाबासीलाई फेरि धुलोको तनाब

  २०७४ असार २६ गते ७:११     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तारलाई भूमिगत गर्न साउनभित्र बोलपत्र (टेन्डर) आह्वान गर्ने भएको छ। अन्तर्राष्ट्रिय बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको जानकारी प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले दिए।

सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभर हेड वितरण प्रणालीले सहर कुरूप र असुरक्षित हुनुका साथै सडक विस्तारलगायत विकास निर्माणमा समेत विभिन्न समस्या देखिएकाले प्राधिकरणले प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याएको हो।

अहिलेको विद्युत् प्रणाली क्षमता अभिवृद्धि गर्न समेत विद्युत् प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याइएको प्राधिकरणले जनाएको छ। अहिलेको विद्युत् आपूर्ति मागलाई तत्कालको ओभर हेड विद्युत् प्रसारण प्रणालीले थेग्न नसक्ने भएकाले तारहरूलाई भूमिगत गर्नुको कुनै विकल्प नरहेको प्राधिकरणको निष्कर्ष छ।

अहिले काठमाडौंको विद्युत् प्रसारण तारको क्षमता ३५० मेगावाट मात्र छ। अबको पाँच वर्षभित्रमा काठमाडौँको विद्युत्को आपूर्तिको माग दुईहजारदेखि दुईहजार पाँच मेगावाटसम्म हुन सक्ने प्राधिकरणको अनुमान छ।

एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा विद्युत् (प्रसारणका तारहरूलाई भूमिगत (अन्डरग्राउन्ड) गर्न लागिएको हो। तारहरूलाई भूमिगत गर्न एडीबीको परामर्शदाताले अध्ययन समेत गरिसकेको छ। यस योजनाका लागि एडीबीसँग प्रारम्भिक सम्झौता भइसकेको जानकारी प्रवक्ता अधिकारीले दिए। यस योजनाका लागि एडीबीले सुरुमा १२ अर्ब २४ करोड रुपियाँ (१२० मिलियन अमेरिकी डलर) उपलब्ध गराउनेछ।

उनका अनुसार विद्युत् प्रसारणका तारहरूलाई भूमिगत गर्ने कार्य विभिन्न चरणमा सम्पन्न गरिनेछ, ‘पाइलट प्रोजेक्ट’को रूपमा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई भूमिगत गरिनेछ। पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनको आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिनेछ। उपत्यकामा कति चरणमा यो कार्य सम्पन्न गरिने सोबारे अझै टुङ्गो लाग्न सकेको छैन। यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिनेछ। सडक पेटीमा मात्र भूमिगत गर्ने भएकोले मूल सडक नखनिने बताउँदै प्रवक्ता अधिकारीले बिजुलीको तारसँगै अप्टिकल फाइबर समेत बिछ्याउने जानकारी दिए। अप्टिकल फाइबर बिछ्याइसकेपछि तारसम्बन्धी सम्पूर्ण काम यसै माध्यमबाट गरिनेछ।

यो योजना सम्पन्न भइसकेपछि राजधानी पूर्ण रूपमा पोल र ताररहित हुनुका साथै हावाहुरी तथा विभिन्न दैवी प्रकोपको बेला विद्युत् आपूर्ति बन्द गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास प्राधिकरणको छ। प्रसारण लाइनलाई भूमिगत गरिए पनि तत्कालका लागि ट्रान्सफर्मर जमिनमाथि अहिलेकै अवस्थामा रहने प्राधिकरणले जनाएको छ।

यो योजनाअन्तर्गत ‘स्मार्ट मिटरिङ प्रणाली’ लागू गरिनुका साथै ‘स्मार्ट ग्रिड’ विकास समेत गरिनेछ। यो योजनाअन्तर्गत विद्युत् प्रसारणका नाङ्गो तारलाई इन्सुलेटेड केबलबाट प्रतिस्थापन गर्नुका साथै सब–स्टेसन टान्सफर्मरको समेत क्षमता अभिवृद्धि गरिनेछ। पहिलो चरणमा ९० हजार ग्राहकको मिटर स्मार्ट मिटरबाट प्रतिस्थापन गरिने प्राधिकरणले जनाएको छ। उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक छन्। पहिलो चरणमा २५ प्रतिशत प्रसारण लाइन भूमिगत गरिनेछ। उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार मिटर वितरित छन्।

तार भूमिगत भएपछि ‘अटोमेसन डिस्ट्रिब्युसन प्रणाली’ समेत स्थापित हुनेछ। भूमिगत हुने प्रसारण लाइनमा जीपीएस प्रविधि जडान गर्नुका साथै अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी समेत जडान गरिने प्रवक्ता अधिकारीले बताउनुभयो। स्मार्ट मिटर जडान भएपछि एउटै कक्षबाट सम्पूर्ण स्मार्ट मिटर जडित ग्राहकको अनुगमन तथा नियन्त्रण गर्न सकिनेछ। भूमिगत प्रसारण सेवाले लाइनको सम्पूर्ण अवस्थिति पता लगाउनेछ।

विद्युत् चुहावट, समयमा शुल्क नबुझाउनेलगायत ‘डिफल्ट’ ग्राहकको सेवा नियन्त्रण कक्षबाट नै बन्द गर्न सकिनेछ। स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचना समेत प्राधिकरणलाई उपलब्ध गराउनेछ जसका आधारमा प्राधिकरणले यथाशीघ्र कारबाही अगाडि बढाउने छ। गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.