काठमाडौं विश्वविद्यालयलाई चार अर्ब रुपैयाँ बजेट

  २०७४ असार २१ गते १६:५९     विकासन्युज

धुलिखेल । प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको ७६ औँ सभा बैठकले आव २०७३/७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नाका साथै आगामी आव २०७४/७५ मा गर्नुपर्ने कार्यक्रम र बजेट पारित गरेको छ ।

विश्वविद्यालयसभा बैठकले स्वास्थ्य विज्ञान कार्यक्रमको रु दुई अर्ब ६४ करोड १३ लाख ४२ हजार र अन्य कार्यक्रमको रु एक अर्ब २७ करोड २० लाख गरी रु तीन अर्ब ९१ करोड ३३ लाख ४२ हजारको बजेट पारित गरेको हो ।

बैठकले कार्यकारी परिषद्को सिफारिसअनुसार विश्वविद्यालय सभामा रिक्त सभासद्मा प्राचार्यमध्येबाट डा चन्दा कार्की, चन्दादातामध्येबाट राजेन्द्र खेतान र सञ्जीव राजभण्डारी, लब्धप्रतिष्ठित विद्वान्मध्येबाट रामेश्वर खनाल, डा बालगोपाल वैद्य, डा स्वर्णिम वाग्ले, डा तीर्थबहादुर श्रेष्ठ र विद्याधर मल्लिक, उद्योगपतिमध्येबाट ज्ञानेन्द्रलाल प्रधान र शिक्षक प्रतिनिधिका रूपमा डा धीरज गिरीलाई मनोनयन गरेको छ ।

बैठकले प्राज्ञिक परिषद्मा प्रा डा सुनिलकुमार शर्मा र प्रा डा अर्पणा न्यौपानेलाई तथा पुनरावेदन समितिमा मल्लिक, डा गिरी र महादेवप्रसाद यादवलाई मनोनयन गरेको छ । सभाले आगामी आवको लेखापरीक्षण सम्पन्न गर्न एमबी श्रेष्ठ एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गर्दै पदक तथा विभूषणसम्बन्धी नियम र छात्रवृत्तिसम्बन्धी नियम पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले विश्वविद्यालय विपन्न वर्गका जेहेन्दार विद्यार्थीको पहुँचमा पुग्न सक्नुपर्नेमा जोड दिए । “विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक निकाय बनाउनुपर्छ, अनावश्यक विवादमा तान्नु हुँदैन”, उनले भने, “बाह्य र राजनीतिक हस्तक्षेपबाट पूर्णतया मुक्त राख्नुपर्छ ।” उनले आफ्नो संरचनालाई युग अनुकूल परिमार्जन गरी समय र समाजको आवश्यकतानुसार कार्यक्रम विस्तार गर्न निर्देशन दिए ।

उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले देशमा भएका स्रोत साधनलाई जनताको हितमा अधिकतम उपयोग गराउन सक्ने किसिमका अनुसन्धान गर्नुपर्ने र देशभित्रका समस्याको समाधान गर्ने दिशामा विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व, क्रियाकलाप र अनुसन्धान लक्षित हुनुपर्ने बताए ।

उपकुलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले विश्वविद्यालयले गरेको कार्य विवरण प्रस्तुत गर्दै समुदायलाई उत्पादनशील र सिर्जनशील बनाउन विभिन्न शैक्षिक तथा प्राज्ञिक कार्य भइरहेको, स्वदेशी तथा विदेशी सङ्घसंस्थासँग सहकार्य भइरहेको, यहाँको जनशक्तिलाई अझ दक्ष बनाई वृत्ति विकास र व्यक्तित्व विकास गराउन सबै तहमा ‘स्टाफ मोबिलिटी’ का अवसर दिन थालिएको र यहाँबाट प्राप्त हुने ज्ञान र सीप दुर्गम क्षेत्रका समुदायको हितमा उपयोग गराउन विभिन्न कार्य भइरहेको जानकारी गराएका छन् ।

उनले विपन्न वर्गका जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन रजत महोत्सवको अवसर पारी ‘उपकुलपति रजत महोत्सव छात्रवृत्ति कोष’ खडा गरिएको जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.