स्थानीय तह निर्वाचनको परिणाम धमाधम सार्वजनिक, कांग्रेस–एमाले अघिपछि

  २०७४ असार १७ गते ६:५७     विकासन्युज

 

काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहमा मतगणनाको दोस्रो दिन शुक्रबार बेलुकासम्म प्राप्त परिणामअनुसार कांग्रेस १४ र एमाले १६ स्थानमा विजयी भएका छन् भने कांग्रेसले एमालेभन्दा एक तह बढीमा अग्रता कायम गरेको छ ।

कांग्रेसले मतगणना भएकामा ८६ स्थानमा अग्रता लिएको छ भने एमालेले ८५ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्र सात तहमा विजयी भएको छ भने उसले २४ तहमा अग्रता कायम गरेको छ ।

अधिकांश मतगणना जारी भएका स्थानी तहमा सयभन्दा कम मतान्तर भएकाले पनि कांग्रेस र एमाले अघिरपछि हुँदै आएका छन् । प्रदेश नम्बर १ का मुख्य सहर विराटनगर, धरान, इटहरी र इनरुवामा कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै, प्रदेश नम्बर ५ का मुख्य सहर अधिकांशमा एमालेले अग्रता लिएको छ । बुटवल, घोराही, तुल्सीपुरलगायतमा एमालेले अग्रता लिएको छ ।

प्रदेश नम्बर ७ का नगरमा पनि अधिकांशमा कांग्रेसले अग्रता लिएको छ । धनगढीमा कांग्रेस अगाडि छ भने एमाले तेस्रो स्थानमा छ ।

शुक्रबार साँझसम्म मतगणना सम्पन्न भएका स्थानीय तहमा एमालेले १४ स्थानमा जित हासिल गरेको छ भने कांग्रेसले १२ स्थानमा जितेको छ । त्यस्तै, माओवादी ९ र राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले १र१ मा तहमा जित हासिल गरेका छन् ।

एमाले बझाङको तलकोट गाउँपालिका, दार्चुलाको अपिहिमाल, नवलपरासीको त्रिवेणीसुस्ता, धनकुटाको सहिदभूमि, बझाङकै दुर्गाथली गाउँपालिकाको प्रमुखमा विजयी भएको छ ।

त्यस्तै, दार्चुलाकै लेकम, बझाङको भुवनेश्वर, बझाङकै थलारागाँ, ताप्लेजुङको मैवाखोला, बाजुराको गौमुल, भोजपुरको रामप्रसाद राई, बैतडीको पञ्चेश्वर, खोटाङको जन्तेढुंगा, बाजुराको पाण्डव गुफा, बझाङको मष्टा गाउँपालिकामा एमालेले प्रमुख जितेको छ । त्यस्तै, डडेलधुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयर पनि एमालेले जितेको छ ।

कांग्रेसले नवलपरासीको प्रतापपुर, ताप्लेजुङको मेरिङदेन, खोटाङको ऐसेलुखर्क, बाजुराको हिमाली र छेडेदह गाउँपालिको प्रमुखमा जितेको छ । त्यस्तै, डडेलधुराको गन्यापधुरामा पनि कांग्रेसले जितेको छ । यो गाउँपालिका प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र हो ।

डडेलधुराकै भागेश्वर, आलिताल, डोटीको केआईसि, संखुवासभाको सिलिचाङ, बझाङको काँडा र गुल्मीको गुल्मीदरबार गाउँपालिकामा कांग्रेसले जितेको छ । बाजुराको बढीमालिका नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाको मयेर र उपमेयरमा पनि कांग्रेसले जितेको छ ।

माओवादी केन्द्रले रुकुमको सिस्ने, भुमे, पुथा उत्तरगंगा, डडेलधुराको अजयमेरु, दाङको बंगलाचुली, सोलुखुम्बुको माहाकुलुङ र लिखुपिके गाउँपालिकाको प्रमुख जितेको छ । उदयपुरको ताप्ली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङले प्रमुखमा विजयी हुनुभएको छ भने प्युठानको मल्लरानी गाउँपालिकामा जनमोर्चाका अमरध्वज रानाले बाजी मार्नुभएको छ ।

अधिकांश नगरपालिकामा मतगणना निकै सुस्त भएको छ । विराटनगरको २४ घन्टामा ५ हजार मत पनि गनिएको छैन । निर्वाचन आयोगले मतगणना बढीमा एक सातामा सक्न गणना केन्द्र बढाउन निर्देशन दिएको बताएको छ ।

विजयी
एमाले १६
कांग्रेस १४
माओवादी ७
राजमो १
स्वतन्त्र १
अग्रता
कांग्रेस ८५
एमाले ८६
माओवादी २५
राप्रपा ५
फोरम लोकतान्त्रिक ५
संघीय फोरम र नयाँ शक्ति ३
अन्य ३
अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.