सिङ्गै गाउँद्वारा चुनाव बहिष्कार, उम्मेदवार पनि काेही उठेनन्

  २०७४ असार १४ गते १४:०८     विकासन्युज

काठमाडौं । प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बुको साबिक तिङ्ला गाविसका बासिन्दाले स्थानीय तहको निर्वाचनमा भाग लिएका छैनन्। स्थानीय तहको पुर्नसंरचना गर्दा अपायक केन्द्र तोकिएको भन्दै आन्दोलनमा रहेका उनीहरुले आफ्नो मागको सुनुवाइ नभएकाले चुनावमा भाग नलिएको बताएका छन्।

छुट्टै गाउँपालिका वा केन्द्र नजिक सार्न माग गर्दै गत फागुनको अन्तिम सातादेखि चरणबद्ध आन्दोलनमा रहेका तिङ्लावासीले राज्यले आफूहरुलाई अन्याय गरेको आरोप लगाए।

अप्ठ्यारो

साबिक तिङ्ला २ का स्थानीय बासिन्दा जंगबहादुर राई भन्छन्, ‘पाइरहेको सेवा सुविधाबाट टाढा राखेर राज्य पुनर्संरचना गरियो। पहिले सदरमुकाम सल्लेरीमा दिनभर काम सकेर सजिलै घर पुग्थ्यौं भने अब केन्द्र धाउन सातआठ घण्टा हिंड्नुपर्ने अवस्था आयो।’

सिङ्गो तिङ्ला गाविस अहिले नेचासल्यान गाउँपालिकाको वडा नम्बर ६ बनेको छ भने सो वडामा एक जना पनि उम्मेदवार न बनेकाे बीबीसीले जनाएकाे छ । मतदानका लागि पाँचवटा केन्द्र तोकिएका छन् भने २ हजार ४ सय ७६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ।

अडान

मतदाता परिचयपत्र समेत कसैले नलिएको निर्वाचनमा खटिएका कर्मचारीहरुले बताएका छन्।

साबिकको तिङ्ला गाविसका अगुवा दत्तसिहं कार्की भन्छन्, ‘तीन महिनाअघि आन्दोलन गर्दा पनि हामीले प्रष्टरुपमा माग राखेका थियौं। ती दुवै माग पूरा नभएपछि चुनाव बहिष्कार गर्ने बाहेकको विकल्प हामीसँग रहेन ।’

स्थानीय सिफारिस समितिमार्फत आयोगमा प्रस्ताव पठाउँदा नै जिल्लाका नेतृत्वबाट केही कमजोरी गरिएको भन्दै उनीहरुले माग पूरा नभएसम्म स्थानीय तह मात्र होइन प्रदेश र केन्द्रको चुनावमा समेत भाग नलिने अडान लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.