निर्जीवन बीमा कम्पनीले लघुबीमा कार्यक्रम सञ्चालन गर्ने, दुई लाखसम्मको सम्पत्ति बीमा

  २०७४ असार १३ गते १८:२४     विकासन्युज

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले ‘घ’ वर्गका वित्तीय संस्थासँग मिलेर लघुबीमा कार्यक्रम शुरु गर्ने भएका छन् । विपन्न वर्ग र किसानलाई फाइदा पुर्याउने उद्देश्यले सो लघुवित्त बैंकसँगको सहकार्यमा सो कार्यक्रम गर्न लागिएको बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले बताए ।

‘निर्जीबन बीमा कम्पनीहरुको तर्फबाट करिब चार करोड रुपैयाँ र बेलायती सहयोग संस्था सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको करिब चार करोड रुपैयाँ गरी करिब ८ करोड रुपैयाँको माइक्रोइन्स्योरेन्स पूल बनाएर लघुबीमा कार्यक्रम सुरु गर्न लागिएको हो,’ उनले भने ‘कार्यक्रमको व्यवस्थापन जिम्मा बिमक संघलाई दिइएको छ ।’

लघुबीमा कार्यक्रमको संचालन लघुवित्त कम्पनीहरुले गर्ने छन् । कृषि विकास बैंकका पूर्व कर्मचारी द्रोण आचार्यलाई लघुबीमा कार्यक्रम सञ्चालन गर्नका लागि प्रमुख कार्यकारी अधिकृतको कम्पनीले नियुक्त गरेको छ । पहिलो वर्षका लागि पूल मेनेजरमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छनोट भएको अध्यक्षले बताए ।

चालु आवमै कार्यक्रम कार्यान्वयनमा लैजाने चापागाइँले बताए । ‘लघुबीमा कार्यक्रम संचालन मोडालिटी तयार भइसकेको छ,’ चापागाइँले भने ‘लघुवित्त कम्पनीका कर्मचारीहरुले लघुबीमा गराउने छन् ।’ यसरी लघुबीमा गराए वापत कम्पनीहरूले २५ प्रतिशत शुल्क पाउने छन् । सो मध्ये १५ प्रतिशत कमिसन र १० प्रतिशत व्यवस्थापन खर्च हुनेछ ।

कार्यक्रममा दुई लाख रुपैयाँसम्मको सम्पत्तिको बीमा समेटिने छ । यो बीमा कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति वा फर्महरुले शुन्य दशमलव २५ प्रतिशत अर्थात वार्षिक ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ । हालसम्म बीमा समितिले लघुबीमा कार्यक्रमको लागि स्वास्थ्य, दुर्घटना, पशु तथा पन्छी, बाली, म्यादी लगायत सात प्रकारका ७ प्रकारका बीमालेख स्वीकृत गरेको अध्यक्षले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.