दशैं अघि काठमाडौंमा ६० यात्रु क्षमताका बस मात्रै गुड्ने छुट्टै रुट, विस्थापित हुँदै २६ माइक्रो र ३६ टेम्पो

  २०७४ असार १२ गते १५:१९     नारायण पौडेल

काठमाडौं । दशैं अघि काठमाडौंमा ६० जना यात्रु क्षमताका ठुला बस मात्रै गुड्ने छुट्टै नयाँ रुट सञ्चालनमा आउने भएको छ । सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १० दशमलब २ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।


यो रुटमा ८ देखि १० मिटर लम्बाईका ५० देखि ६० यात्रु क्षमताका १७ वटा ठुला बस मात्रै गुड्नेछन् । काठमाडौं दिगो शहरी यातायात योजनाले एशियाली विकास बैंकसँगको सहकार्यमा ठुला बस मात्रै सञ्चालन गर्ने नयाँ रुट छनौट गरेको हो । यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३६ वटा टेम्पो सञ्चालनमा छन् । यी टेम्पो र माइक्रो विस्थापित गरेर तीनै कामदार र लगानी कर्ताको सहभागीतामा १७ वटा ठुला नयाँ बस सञ्चालन गर्न लागिएको हो । त्यसका लागि टेम्पो र माइक्रोको ५०÷५० प्रतिशत सेयर हिस्सा हुनेगरि दिगो यातायात प्राली नामक कम्पनी समेत दर्ता भैसकेको छ ।

‘एडिबीको सहयोगमा काठमाडौं दिगो शहरी यातायात योजनाले एस ५ नामको रुटलाई ठुला बस मात्रै गुड्ने नयाँ रुटका रुपमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागेको हो, दशैं अगाडी यो रुटमा बस गुडिसक्छन’, योजना प्रमुख खड्गलाल श्रेष्ठले भने । उनले माइक्रो र टेम्पो चालक तथा मालिकहरुकै सहभागीतामा नयाँ कम्पनी खोलिएको र सहुलियत ऋण उपलब्ध गराएर मझौला बस सञ्चालन गर्न लागेको पनि जानकारी दिए । त्यसका लागि नगर विकास कोष मार्फत एसियाली विकास बैंकले ऋण लगानी गर्नेछ ।

‘नगर विकास मार्फत एडिबीले ऋण दिन्छ, त्यसका लागि कोष र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबिच सम्झौता पनि भैसकेको छ’, सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठले भने । टाटा कम्पनीबाट खारिद गरिने ती बसहरुको अनुमानित लागत प्रति बस ४० देखि ५० लाख हुनेछ । गाडी सञ्चालन गरेको अधिकतम ७ बर्षभित्रै पुर्ण रुपमा लगानी उठिसक्ने प्रक्षेपण पनि योजनाले गरेको छ ।‘हामीले एडिबीसँग मिलेर यात्रुको आवागमन, रुटको भौतिक पुर्वाधार र लगानी र लगानी उठ्न लाग्न अनुमानित समय सबै अध्ययन गरेपछि पाइलट प्रोजेक्ट अघि बढाउने निष्कर्षमा पुगेका हौं’, श्रेष्ठले सुनाए ।

६४ रुटको पहिचान
एडिबीसँगको सहकार्यमा योजनाले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सकडालाई बी ग्रेडमा राखिएको छ ।

६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । दशैं अघि पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको सडक भने बी ग्रेडको हो । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् । योजनाले दोश्रो पाइलट रुटका रुपमा किर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क हुँदै चप्पल कारखाना पुग्ने अर्को रुट सञ्चालनबारे छलफल गरेको भएपनि यातायात व्यवसायीले सहमति दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.