ग्रीन कार्ड र पीआर होल्डरलाई बैंकको जागिरमा रोक लगाउने तयारी

  २०७४ असार ११ गते १०:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रीन कार्ड र पिआर होल्डरहरुलाई बैंकिङ क्षेत्रको जागिरमा रोक लगाउने तयारी थालेको छ । बैंककै कर्मचारीहरु बैंकिङ कसुर गरेर विदेश भाग्ने क्रम बढेसँगै पिआर र ग्रीन कार्ड होल्डरहरुलाई बैंकको जागिरमा रोक लगाउने निष्कर्षमा केन्द्रिय बैंक पुगेको हो ।

कैलाश विकास बैंकको पोखरास्थित लामाचौर शाखाका प्रमुख रबिचन्द्र खनाल करोडौंको बैंकिङ कसुर गरेर अमेरिका भागेका छन् । क्यापिटल मर्चेण्ट एण्ड बैकिङका सञ्चालक पवन कार्की अरबौंको बैंकिङ कसुर गरेर अमेरिका फरार छन् । ‘ग्रीन कार्ड वा पीआर लिएका व्यक्तिहरु बैंकमा बद्मासी गरेर सजिलै विदेश भाग्न सक्ने देखिएकोले त्यस्ता व्यक्तिहरु बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारीमा रोक लगाउने विषयमा छलफल छलेको छ’ राष्ट्र बैंक स्रोतले भन्यो ।

निजामति क्षेत्रमा ग्रीन कार्ड र पिआर होल्डरले जागिर खान नपाउने कानुन बनेसँगै राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई पनि ग्रीन कार्ड र पिआरमा रोक लगाएको थियो । ‘निजामतिका कर्मचारीले ग्रीन कार्ड र पिआर लिन नपाउने कानुन आए लगत्तै राष्ट्र बैंकले पनि कर्मचारी विनियमावली मार्फत ग्रीन कार्ड र पिआरमा रोक लगाईसकेको छ’, राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले देशविकाससँग भने ।

बैंकका कर्मचारी नै बैंकिङ कसुर गरेर विदेश भाग्ने क्रम बढे पनि तत्काल ग्रीन कार्ड र पिआर होल्डरलाई जागिरमै रोक लगाउने तयारीबारे आफूलाई जानकारी नभएको उनले बताए । ‘तल्लो तहका कर्मचारीले बैंकिङ कसुर गरेर विदेश भाग्न थालेको देखिन्छ, समस्या जहाँ पनि हुन्छ, हामीले पानीलाई सङलो बनाउने हो, त्यसमै माछा मार्ने होइन’, पौडेलले भने ।

तर, राष्ट्र बैंक स्रोतका अनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत वा नयाँ निर्देशन जारी गरी ग्रीन कार्ड र पिआर होल्डरले बैंकमा जागिर खान नपाउने व्यवस्था लागु गर्ने तयारी भैरहेको छ ।

बैंकिङ कसुर गरेर विदेश भाग्नेहरु क्रम बढेपनि अहिलेसम्म कतिजना बैंकिङ कसुर गरेर फरार छन् भन्ने तथ्याङ्क पनि राष्ट्र बैंंकसँग छैन । बैंकका सञ्चालक तथा कर्मचारी मात्र होइन, बैंकबाट ऋण लिएर विदेश भाग्नेको संख्या पनि बढ्दै गएको छ ।

मौजुदा कानुनहरुका आधारमा बैंकिङ कसुर गरेर भाग्नेहरुलाई नेपाल झिकाएर कारवाही गर्न राष्ट्र बैंकलाई अप्ठेरो परिरहेको छ । ‘बैंकिङ कसुर गर्नेलाई कारवाही गर्ने कानुन त छ तर विदेश भागेकाहरुलाई झिकाउन सकिएको छैन ।त्यसैले अब बैंकका कर्मचारीलाई ग्रीन कार्ड र पिआर लिन रोक लगाउने निचोडमा पुगेका हौं’, राष्ट्र बैंक स्रोतले भन्यो ।

बैंकका सिइओहरुलाई पैसाको अभाव नहुने भएकाले तल्लो स्तरका कर्मचारीबाट बैंकिङ कसुर बढी हुने गरेको पनि पौडेलको भनाई छ । ‘सानाले गर्ने बैंकिङ कसुरलाई हेर्न मौजुदा नियम कानुन छन् । जुन सुकै क्षेत्रमा समस्या हुन्छ, त्यस्ता समस्याहरुको यथोचित समाधान गर्दै जाने हो’ पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.