बैंकिङ सेवा घाटामा जानै नहुने व्यवसाय हो-गोविन्दप्रसाद ढकाल

२०७४ असार ४ गते २०:०४ विकासन्युज

गोविन्दप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक लिमिटेड

 गरिमा विकास बैंककाे काठमाडौंको आगमन कस्तो भयो ?

हामीले काठमाडौंमा शाखा खोलेको १ वर्षभन्दा बढी भयो । कर्पोरेट कार्यालय काठमाडौंमा खोलेको २ महिना भयो । बिजनेश, ग्राहक चाप दिन दिनै बढेको छ । काठमाडौं बाहिर हुँदा पनि हाम्रो सेवा, बिजनेश राम्रो थियो र काठमाडौं आएपछि झन् राम्रो भएको छ । हामीले धेरै सहयोग पाएका छौं । पोखराबाट काठमाडौं आएर व्यापार व्यवसाय गर्नेहरु मानिस धेरै छन् । उनीहरुबाट हामीले विशेष सहयोग पाएका छौं ।

पोखरा र काठमाडौंको व्यवसायिक वातावरण र संस्कार कति फरक पाउनु भयो ?

मोफोसलमा भन्दा काठमाडौंमा केही फरक छ र केही जटिल छ । काठमाडौंमा पैसा धेरै भएको, ठूलो रकम कारोबार गर्ने ग्राहक छन् । उनीहरु शुन्य दशमलव २५ प्रतिशत व्याज फरक हुँदा पनि बैंक परिवर्तन गर्दा रहेछन् । उनीहरु सेवा स्तर भन्दा पनि आफूलाई कहाँ फाइदा छ भनेर हेर्छन् ।

मोफसलका ग्राहक सेवालाई बढी महत्व दिन्छन् । एक वा आधा प्रतिशत ब्याज फरक हुँदैमा बैंक परिवर्तन गर्दैनन् । यहाँ त मैले ८ प्रतिशत ब्याज दिएको छु, अर्को बैंकले ८.२५ प्रतिशत ब्याज दिने बित्तिकै अर्कै बैंकमा पैसा लगिहाल्ने संस्कार रहेछ ।

त्यसको कारण के होला ?

मोफसलमा साना निक्षेपकर्ता बढी हुन्छन् । करोड बचत गर्ने ग्राहक कम हुन्छ । तर राजधानीमा एउटैले करोडौं निक्षेप राख्छन् । थोरै ब्याजअन्तर हुँदा पनि ठूला निक्षेपकर्तालाई ठूलै असर पर्ने भएकोले होला ।

राजधानीमा आए लगत्तै ब्याजदर निकै बढ्यो, त्यसको असर कत्तिको पर्यो ?

हाम्रो स्ट्रेन्थ अहिले पनि मोफसलमा राम्रो छ । काठमाडौं आउनु पूर्व नै हामीसँग साढे १३ अर्ब रुपैयाँ निक्षेप र साढे १२ अर्ब कर्जा लगानीसहित
२६ अर्बको पोर्टफोलियो थियो । पोखरामै रहेर पनि हामीले काठमाडौंको सरह आधुनिक बैकिङ सेवा सुविधा दिँदै आएका थियौं । त्यसैले काठमाडौं आएर हामीलाई बैकिङ सेवा सञ्चालन गर्न कठिन महशुस भएको छैन । काठमाडौंमा सञ्चालन खर्च अलि बढी छ । तर बिजनेश पनि बढेको छ । हाम्रो टिम  त्साहित छ । पछिल्लो समय बैंकहरुले पुँजी वृद्धि उच्च दरमा भएको छ । सोही आधारमा बैंकहरुले लगानी विस्तार
गरे । कर्जाको माग पनि धेरै भयो । तर सरकारी खर्च कम भयो । सरकारको ढुकुटीमा बढी पैसा जम्मा भयो । त्यसैले बजारमा लगानी योग्य पुँजीको कमी भयो र ब्याज निकै बढ्यो ।

ब्याज वृद्धिले विकास बैंकहरुलाई भन्दा बढी वाणिज्य बैंकहरुलाई असर गरेको छ । उनीहरुको सीडी रेसियो सीमा नाघेको देखिन्छ । विकास बैंकले भन्दा बढी ब्याज वाणिज्य बैंकहरुले दिएको देखिन्छ । पुँजी वृद्धिको असरले होला अहिले पनि बैंकहरु कर्जा लगानी गर्न हतारिएको देखिन्छ ।

विगत एक वर्षमा बैंकहरुले निक्षेप र कर्जा दुबैतर्फ निकै ब्याज बढाई सके । ब्याजदर घट्ने क्रम कहिलेदेखि शुरु होला ?

८ महिनाअघिसम्म बचत खातामा २ प्रतिशत ब्याज दिने बैंकहरुले अहिले ६/७ प्रतिशत व्याज दिन थालेका छन् । हिजो मुद्दती बचतमा ३/४ प्रतिशत व्याज दिने बैंकले अहिले १२/१३ प्रतिशत ब्याज दिन थालेको छन् । कर्जामा पनि सोही अनुसार ब्याजदर वृद्धि भएको छ । यो स्वाभाविक प्रक्रिया पनि हो । बैंकले पैसा किनेर पैसा बेच्ने हो र त्यहीबाट नाफा आर्जन गर्ने हो । बैंकहरु ५ प्रतिशत स्प्रेडदर मेन्टेन गरेर काम  गरिरहेका छन् । सरकारको पुँजीगत खर्च वृद्धि भएमा ब्याजदर घट्न थाल्छ भन्ने अनुमान हो । तर चालु आर्थिक वर्षमा व्याज घट्ने देखिदैन । ३/४ महिनापछि ब्याजदर घट्नेछ । यति धेरै ब्याजदर धेरै लामो समय रहन सक्दैन ।

बैंकहरुको सेयर पुँजी वृद्धिले लगानीको चाप पर्यो, कर्जा लगानी योग्य पैसाको अभाव र ब्याज वृद्धि भयो भन्ने बैकरहरुको तर्क छ । तर बैंकहरुको पुँजी वृद्धि क्रम अहिले पनि जारी छ । हकप्रद सेयरको बाढी आईरहेको छ । भदौ, असोजपछि बोनस सेयरको बाढी आँदैछ । त्यति बेला पनि त बैंकहरुलाई कर्जा लगानीको दवाव पर्ला, लगानी योग्यपुँजी कम होला नि ?


हो, पुँजी वृद्धि हुन्छ । पुँजी वृद्धि हुन्छ भनेर नै बैंकहरुले ६ महिनाअघि नै लगानी विस्तार बढी गरे । पुँजी वृद्धिको प्रेसरले धेरै बैंक तथा वित्तीय संस्था मर्ज पनि भएको छन् । पहिला ८६ वटा विकास बैंक थिए पनि अब २०/२५ वटामा झर्ने देखिएको छ । फाइनान्स कम्पनीहरुको संख्या पनि निकै घटेको छ । वाणिज्य बैंकको संख्या धेरै घटेन ।

अब बैंकहरुले शाखा विस्तार गर्नेछन् । अब बैकिङ क्षेत्र नपुगेको क्षेत्रमा बैंकहरु जानेछन् । मुलुक संघीयतामा गएको छ । २० वर्षपछि
स्थानीय तहको निर्वाचन भएको छ । नयाँ जोश जाँगर आएको छ । विकासले पनि गति लिने विश्वास जागेको छ । त्यसले निक्षेप वृद्धि
र बजार विस्तार दुवैमा सहयोग गर्नेछ ।

यतिबेला विकास बैंकहरुले दिने औसत प्रतिफल कति छ ?

औसतमा २० प्रतिशत छ ।

२० प्रतिशत प्रतिफल कम हो ?

कम होइन । तर पुँजीवृद्धि पछि यति धेरै प्रतिफल दिन सकिँदैन । यो घट्छ । जसले बैंकबाट १५ देखि १७ प्रतिशत ब्याज लिएर लगानी गरेका
छन्, उनीहरुको लागि बैंकले दिने रिर्टन कम हुन्छ । त्यसैले बैंकका लगानीकर्ताहरु नाफा बढाउन व्यवस्थापनलाई दवाव दिने गरेका छन् । लगानीकर्ताहरुले बुझ्न जरुरी के छ भने बैंकिङ क्षेत्रमा गरिने लगानी दीर्घकालिन हो । धैर्य गर्न सक्नुपर्छ ।

कर्जाको माग कुन क्षेत्रमा बढी छ ?

सबै क्षेत्रबाट कर्जाको माग छ । बढी माग हुने व्यापार र सेवाका क्षेत्रमा हो । ऋण्ीाले कर्जाको सही प्रयोग गरेका छैनन् भनिन्छ, तपाईको बुझाई के छ ?

जुन उदेश्यले ऋण लिइएको हो, त्यसमा लगानी होस् भनेर बैंकहरुले चनाखो हुनैपर्छ । तर उद्योग, व्यापारको लागि भनेर कर्जा लिने तर घरजग्गामा वा सेयरमा लगानी गर्नेहरु धेरै देखिन्छन् ।

त्यस्तो कर्जा कति जोखिममा छन् ?

२०६६ सालमा घरजग्गा र सेयरमा गरिने लगानीप्रति राष्ट्र बैंकले कडा नीति नलिएको भए अहिले धेरै ठूलो समस्या भोग्नु पर्ने थियो । समयमा नै सही नीति आएकोले अहिलेसम्म ठूलो समस्याको संकेत देखिएको छैन । अहिले कर्जाको ब्याज जसरी बढेको छ र यो रेट अलि लामो समय रह्यो भने समस्या आउनेछ ।

निक्षेप र कर्जाको ब्याज वृद्धिले बैंकको नाफा घट्छ भनिए पनि चैत मसान्तसम्मको वित्तीय विवरणले नाफा झन् बढाएको देखियो, कसरी यस्तो भयो ?

मैले अघि नै भने बैंकले बैंकले पैसा किन्ने हो बेच्ने हो । बैंक नाफामा नगए कसरी चल्छ ? नाफामा जानैपर्छ । मान्छेहरु भन्छन्–बैंक घाटामा जानै नहुने विजनेश हो र ? म के भन्छु भने बैंक घाटामा जानै हुँदैन । बैंक घाटामा गयो भने विश्वास गुम्छ, बैंक संकटमा पर्छ । बैंक संकटमा पर्नु  भनेको अर्थतन्त्र संकटमा पर्नु हो । नाफा वृद्धि स्वभाविक छ । दुई वर्षमा ४ पुँजी (लगानी) वृद्धि भएको छ । तर नाफा ४ गुणा वृद्धि हुनेवाला छैन ।

गरिमा विकास बैंकको वित्तीय अवस्था कस्तो छ ?

साढे १३ अर्ब निक्षेप र साढे १२ अर्ब कर्जा लगानी छ । ४३ वटा शाखा छन् । यो आर्थिक वर्षभित्र थप ४ वटा नयाँ शाखा विस्तार गर्दैछौं । २ लाख ७ हजार ग्राहक छन् । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड हुँदैछ । चालु आर्थिक वर्षको नाफाबाट ३० करोड रुपैयाँ बोनस सेयर वितरण गर्छाै र पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनेछौं ।

गरिमा विकास बैंक अरुसँग मर्ज हुन्छ कि हुँदैन ?

मर्ज राष्ट्र बैंकको नीति हो, राष्ट्रिय नीति हो । सरकारको नीतिलाई हामी सहयोग नै गर्छौं । संस्था राम्रो हुन्छ, लगानीकर्ताले सुरक्षित महसुश गर्छन् भने हामीले त्यसलाई इन्कार गर्ने भन्ने हुँदैन । हामी अरुसँग मर्जमा जाने भन्दा पनि मर्ज हुन चाहने अरु जिल्ला स्तरको वा क्षेत्रीय स्तरको विकास
बैंक तथा फाइनान्स कम्पनी मर्ज गरेर संस्थालाई बलियो बनाउँदै जाने हाम्रो नीति हो । हामी पुँजी २ अर्ब ५० करोड भयो भनेर चुप लागेर बस्दैनौ । हामी देशभर नेटवर्क भएको बैंकको रुपमा स्थापित हुन चाहान्छौं । नयाँ शाखा खोल्नु भन्दा हामी नपुगेको क्षेत्रमा रहेको विकास बैंक वा फाइनान्स कम्पनी हामी एक्वाएर गर्दै अगाडि जाने सम्भावना छ ।