उपत्यकाको सडक विस्तारमा जनप्रतिनिधिको सहयोग मागिँदै, १५० किलोमिटर सडकमा डोजर चलाउने तयारी

  २०७४ असार ४ गते १५:५४     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाको सडक विस्तारमा व्यापक अवरोधको सामना गरिरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जन निर्वाचित प्रतिनिधीहरुसँग सहयोग माग्न लागेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका नव निर्वाचित जन प्रतिनिधीहरुलाई एकै ठाउँमा भेला गरेर सडक विस्तारमा सघाउन आग्रह गर्न लागेको हो ।

‘सोमबार तीनै जिल्लाका जनप्रतिनिधीसँग सडक विस्तार बारे व्यापक छलफल गर्दैछौं, सडक विस्तारमा स्थानीय बासिन्दाको अवरोध चिर्न सहज हुने अपेक्षा छ’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने । उनले सडक विस्तारमा स्थानीय जनतादेखि अदालतसम्मको असहयोग रहेको बताउँदै जन प्रतिनिधीले आधुनिक, सुबिधा सम्पन्न र व्यवस्थित शहर निर्माणको अभियानमा सघाउने अपेक्षा पनि व्यक्त गरे ।

‘उपत्यकाको अव्यवस्थित सडक र भौतिक पुर्वाधारलाई व्यवयस्थित बनाउने हाम्रो अभियानमा जन प्रतिनिधीले सघाउने आसा छ, उहाँहरुले शहर बनाउनै आउनु भएको हो र हामीले पनि त्यहि काम नै गर्दै आएका छौं’, तिवारीले भने । त्रिपुरेश्वर देखि कलंकी हुँदै नाग ढुंगा सडकमा सर्वाेच्च अदालतले काम रोकि दिएको छ । त्यस्तै, पुर्व मन्त्री तथा सांसदहरुले समेत सडक विस्तारमा अवरोध गर्दै आएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का सांसद नरहरी आचार्य र काठमाडौं क्षेत्र नम्बर ८ र ९ का सांसद नविन्द्र राज जोशी तथा ध्यानगोविन्द रञ्जितले सडक विस्तारका विरुद्ध जुलुस नै निकालेको पनि उनले बताए ।

१५० किलो मिटर डोजर चलाउन अझै बाँकी
विकास आयुक्त तिवारीले काठमाडौं उपत्यकामा अझै १५० किलोमिटर सडकमा डोजर चलाउन बाँकी नै रहेको पनि जानकारी दिए । ‘१५० किलोमिटर सडक विस्तार गर्न बाँकी छ, हामीले तालिका नै बनाएर धमाधम भत्काउन लागेका छौं’, तिवारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.