राप्तीभेरीको हकप्रद सेयर रद्द भए शिखर इन्स्योरेन्स र एनएमबी बैंकको एफपीओ आउने

  २०७४ जेठ २८ गते १२:२८     विकासन्युज

काठमाडौं । धितोपत्र निष्काशन तथा बाडफाँड निर्देशिका २०७४ को बुँदा १२ (१०)मा ‘संगठिन संस्थाले साधारण सभाबाट हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने’ लेखिएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको यो निर्देशिका जेठ १२ गतेदेखि लागू भएको उल्लेख छ ।

तर राप्तीभेरी विकास बैंकले जेठ २५ गते सातौ वार्षिक साधारणसभाको सूचना प्रकाशित गर्यो । असार १५ गतेको लागि बोलाइएको साधारणसभाको विशेष प्रस्तावमा ‘यसअघिको साधारणसभाले गरेको हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय खारेज गर्ने’ उल्लेख गरिएको छ ।

राप्तीभेरी विकास बैंकको सञ्चालक समितिले साउन ३२ गते २०० प्रतिशत (१ बराबर २ कित्ता) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । भदौं १७ गते विशेष साधारणसभाले उक्त सञ्चालक समितिको प्रस्ताव पास गरेको थियो ।

तर उक्त निर्णय कार्यान्वयन भएको छैन । पछिल्लो समय यो बैंक ज्योति विकासमा विलयको प्रक्रियामा छ । ज्योति विकास बैंकले राप्ती भेरी विकास बैंक प्राप्ति गर्न सक्ने भनेर राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । सोही अनुसार राप्तीभेरीले विजयमा जाने र हकप्रद सेयर निष्काशन नगर्ने प्रस्ताव लैजादै छ ।

‘ज्योति विकास बैंक र राप्तीभेरी विकास बैंक प्राप्तिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएर आईसक्यो । सोही अनुसार हामीले साधारणसभामा विशेष प्रस्ताव गरी हकप्रद सेयर सम्बन्धी अघिल्लो निर्णय खारेज गर्दैछौं’ राप्तीभेरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राईले विकासन्युजसँग भने ।

धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्ने निर्णय खारेज हुन नपाउने गरी ल्याएको निर्देशिकाले आफूहरुलाई अप्ठ्यारो नपर्ने उनले बताए । ‘यसअघिको साधारणसभाले गरेको निर्णय खारेज गर्न धितोपत्र बोर्डको स्वीकृति चाहिँदैन । हामीले साधारणसभा बोलाई सकेका छौं । कम्पनी ऐन अनुसार साधारणसभाले जे निर्णय गर्छ त्यो नै अन्तिम निर्णय हुन्छ’ उनले धितोपत्र बोर्डलाई चुनौति दिँदै भने ।

राष्ट्र बैंकले जारी गरेको मर्ज तथा एक्विजिशन नियमावली अनुसार पुँजी वृद्धि सम्बन्धी पुरानो योजना खारेज गर्न सकिने उनले दावी गरे । बोर्डले नयाँ निर्देशिका ल्याउनु पूर्व नै बैंक सञ्चालक समितिले हकप्रद सेयर निष्काशन नगर्ने निर्णय गरेर धितोपत्र बोर्डलाई जानकारी गराई सकेकोले बोर्डबाट हस्तक्षेप नहुने सो बैंकको विश्वास छ ।

निर्देशिका जारी हुनु पूर्व प्रक्रियामा रहेको नाममा राप्तीभेरी विकास बैंकको हकप्रद सेयर निष्काशन रद्द गर्ने पक्षमा धितोपत्र बोर्ड रहेमा शिखर इन्स्योरेन्स र एनएमबी बैंकले प्रस्ताव गरेको एफपीओ पनि निष्काशन हुने सक्ने विश्लेषण सेयर बजारमा हुन थालेको छ ।

शिखर इन्स्योरेन्स र एनएमबी बैंकले पनि नयाँ निर्देशिका आउनु पूर्व नै साधारणसभाबाट निर्णय गराई धितोपत्र बोर्डमा आवेदन गरिसकेका छन् । तर नयाँ निर्देशिकाले कुनै पनि कम्पनीलाई एउटा एफपीओ जारी गरेको पाँच वर्षपछि मात्र अर्को एफपीओ जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

निर्देशिका सबैका लागि समान रुपमा लागू हुने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन् । ‘एउटा कम्पनीलाई छुट दिने, अर्को कम्पनीलाई लागू गर्ने काम हुँदैन’ गिरीले विकासन्युजसँग भने–‘धितोपत्र बोर्डको सहमतिविना सेयर निष्काशन वा प्रक्रिया रद्द हुन सक्दैन ।’

याे पनि पढ्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.