अब नेपाली विद्यार्थीलाई अष्ट्रेलिया जान सजिलो

  २०७४ जेठ १६ गते १४:१९     विकासन्युज

काठमाडौं । नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जान चाहने विद्यार्थीलाई पहिले भन्दा अलिक सजिलो हुने भएको छ। अष्ट्रेलियाबाटै त्यहाँको जिवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्था साथै कसरी अष्ट्रेलिया प्रोसेस गर्ने आदी विषयमा जानकारी दिन सिड्नीमा रहेका केही युवाले पोर्टल नै सुरू गरे पछी अब अष्ट्रेलिया जान चाहनेका लागी सुसूचित हुन सजिलो हुने भएको हो।

नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलिया पुगिसकेका नेपालीहरूलाई त्यहाँको जीवन शैली तथा पढाई र भविष्यको बसाईंका बारेमा जानकारी दिने हिसाबले नेपालीपेजडटकम www.nepalipage.com वेब पोर्टल सुरू गरिएको छ। वेब पोर्टलले नेपाली तथा अंग्रेजी भाषामा नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलियामा रहेका नेपालीहरूलाई अष्ट्रेलिया र त्यहाँको अवसर बारे सूचित गर्ने वेब पोर्टल संचालक तथा प्रोग्रामर मदनमणि अधिकारीले बताए।

‘हामीले एक वर्ष देखी अष्ट्रेलियाको नेपाली उपस्थिती, विद्यार्थीका समस्या अध्ययन गरेर यसको प्राविधिक तथा सामग्री योजनाबद्ध ढंगले विकास गरेका छौं’ अधिकारीले बताए। उनले नेपालमा पत्रकारिता गरेको अनुभव र अष्ट्रेलियाको सफ्टवेयर ईन्जिनियरिङको सिप प्रयोग गरेर आफू जस्तै अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका तिता मिठा भोगाई र संभावनाका बाटा पहिल्याउन सहयोग गर्ने हिसाबले यसलाई अघि बढाएको बताए।

‘नेपालबाट अष्ट्रेलिया जाने भनेपछी स्वर्गै हो कि जस्तो मान्ने गरिन्छ, यहाँका समस्या र प्रतिस्पर्धा अनि जोगिनुपर्ने धेरै विषय छन् जसको बारेमा नेपालमा धेरै कमलाई थाहा छ’ अधिकारीले भने ‘त्यस्ता विषय जसले अष्ट्रेलिया जाने निर्णयलाई सही र सफल बनाउन मदत गर्छन् ती कुराहरू हामीले समेट्छौं’। अधिकारी वेबसाइटका डेभेलोपर, प्रोग्रामर हुन्। उनले वेब पोर्टलको एण्ड्रोईड एप समेत सुरू हुन लागेको जानकारी दिए।
वेब पोर्टलकी म्यानेजिङ एडिटर संगिता घिमीरेले आफूहरूले विशेष गरेर अष्ट्रेलियामा कस्तो कलेज एवम् कोर्ष पढ्ने, कसरी सस्तो शुल्क भएको कोर्ष तथा कलेज, युनिभर्सिटी छान्ने, कुन शहरमा बस्दा सस्तो सजिलो हुन्छ, कसरी पीआरको प्रक्रिया अपनाउने देखी अष्ट्रेलियामा घर किन्ने सम्मको जानकारी प्रकृयागत रूपमा प्रस्तुत गर्दै जाने बताईन। उनका अनुसार यसले नेपालबाट पीआर लिएर तथा विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहनेहरूका लागी अष्ट्रेलियाको रोजगारको बजार, सामयिक कोर्ष तथा अष्ट्रेलिया पुगेपछी काम तथा बसोबासको अवस्था बारे जानकारी लिन मदत गर्नेछ।

पोर्टलका डिजीटल पब्लिसिङ म्यानेजर प्रमेश श्रेष्ठले नेपालीपेजले अष्ट्रेलिया र नेपालमा रहेका नेपालीलाई गुणस्तरिय डिजिटल कन्टेन्ट नेपाली र अंग्रेजी भाषामा उपलब्ध गराउने र त्यसबाट दुवै देशमा रहेका नेपाली साथै विश्वभरका नेपाली लाभान्वित हुने बताए। ‘हामीले दिने सूचना र जानकारीले नेपालीहरूलाई आफ्नो करिअर, शैक्षिक तथा आर्थिक अवस्था र अष्ट्रेलिया सपनालाई जोड्न सजिलो बनाउँछ’ श्रेष्ठले भने ‘यसका सामग्री मनन गर्ने हो भने नेपालीलाई अष्ट्रेलियामा जाने, बस्ने र निर्णय गर्ने विषय सजिलो हुन्छ, हाम्रो चाहना पनि नेपालीलाई अष्ट्रेलिया सजिलो बनाउने नै हो’।

पछील्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थी विभिन्न सामुन्द्री दुर्घटना, झगडा तथा आत्महत्या जस्ता घटनाहरूमा जोडिएको धेरै समाचार आउने गरेका छन्। त्यसो त अष्ट्रेलियामा नेपाली विद्यार्थीहरू लामो समय सम्म काम नपाउने, श्रम शोषणमा पर्ने, कलेज तथा विश्वविद्यालयको फि जम्मा गर्न नै गाह्रो हुने जस्ता समस्यामा पर्दै आएका छन्। अष्ट्रेलिया पुगेपछी कलेज, कोर्ष परिवर्तन गर्ने देखी भिजा क्यान्सिलमा पर्ने विद्यार्थीको संख्या पनि बढ्दो छ। नेपालमा धेरै कन्सल्टेन्सीले सही सूचना र जानकारी नदिँदा अष्ट्रेलिया पुगेपछी विद्यार्थीले भोग्नुपर्ने समस्याहरू ठूलो हुने भएकाले सबैलाई सुसूचित हुने अवसर बढाउनका लागि पोर्टलको सुरूवात भएको वेब पोर्टल टीमले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.