सुमार्गीको विवादित रकम फुक्का गर्न कसरत, ११ अर्बमध्ये तीन अर्ब मात्रै निकासा बाँकी

  २०७४ जेठ १३ गते ७:५२     विकासन्युज

काठमाडौं । चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रुपैयाँ निकासा गर्न कसरत सुरु भएको छ ।

सुमार्गीले दाहाल सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए ।

अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिषद्, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग पनि पटक/पटक छलफल भयो । तर, राष्ट्र बैंकले रोकेर राखेको रकम निकासा गर्न भने सरकारले सकेन ।

सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए । उक्त रकममध्ये ८ अर्ब रुपैयाँ पहिला नै निकासा भइसकेको छ । सुमार्गीले बेलाबेला साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्यान्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए । सुमार्गीले विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् ।

रकम निकासा गर्न आवश्यक कागजात जुटाउन नसक्दा डा। युवराज खतिवडा गभर्नर भएका बेलादेखि उक्त रकम निकासा रोकिएको हो । दाहाल सरकार सत्ताबाट बाहिरिँदै गर्दा अजय सुमार्गीको रोक्का रहेको रकम निकासा गर्न जेठ ४ गते गोप्य निर्णय गरी बाटो खोलिदिएको स्रोतको दाबी छ । यो निर्णयको औपचारिक पुष्टि भने हुन सकेको छैन ।

अजय सुमार्गीको रोक्का रकम निकासाका सम्बन्धमा सरकारबाट नेपाल राष्ट्र बैंकमा शुक्रबारसम्म कुनै आधिकारिक पत्र नआएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पाण्डितले बताउनुभयो । सरकारले निर्णय गरेको भए अहिलेसम्म पत्र आउनुपर्ने उहाँको भनाइ छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी रकम निकासा गर्न निर्देशन दिन सक्छ । तर, रकम निकासाका लागि आवश्यक पर्ने विभिन्न कागजात बुझाउनुपर्ने हुन्छ ।

राष्ट्र बैंकले अजय सुमार्गीले ल्याएको रकम निकासा गर्न नदिने भनेर रोकेको हैनु, उहाँले भन्नुभयो, यति ठूलो रकम निकासाका लागि आवश्यक कागजात ल्याऊ मात्रै भनेको हो । रकम निकासाका लागि आवश्यक कागजात जुटाउन नसक्दा रकम त्यतिकै बैंकमा रोकिएको हो ।
२०७० सालदेखि नेपाल सरकारको कुनै निकायबाट उक्त रकम नेपाल भित्र्याउन पूर्वसहमति नलिएका कारण स्रोत नखुलेको धनका रूपमा राष्ट्र बैंकले उक्त रकम निकासामा रोक लगाएको हो । अजय सुमार्गीले मुक्ति श्री सिमेन्ट उद्योगमा लगानी गर्न उक्त रकम नेपाल भित्र्याएका हुन् । ठूलो रकम एकाएक बैंकमा आएपछि रकम ल्याउनुको आधार उल्लेख गर्न सकेका थिएनन् । अन्नपूर्ण पाेस्टबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.