बाहिर चक्रपथको फाइल राजपत्रका लागि तयार, जग्गा कारोबार रोकिँदै

  २०७४ जेठ १२ गते १७:४३     नारायण पौडेल

काठमाडौं । बाहिरी चक्रपथ आयोजनाको चोभार–सतुंगल खण्डको डिपिआर स्विकृति गरिएको फाइल राजपत्रमा प्रकाशित गर्न तयार भएको छ ।‘डिपिआर स्विकृति र काम अघि बढाउन मन्त्रीज्युले गर्नु भएको निर्णयको कपिसहित परिस्कृत फाइल राजपत्रमा प्रकाशित गर्न तयार भएकोछ, हामीले सम्बन्धित कार्यालयमा बुझाईसकेका छौं, बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुब प्रसाद सापकोटाले विकासन्युजसँग भने ।


उनका अनुसार आइतबार वा सोमबार बाहिरी चक्रपथको काम अघि बढाउने निर्णय राजपत्रमा प्रकाशित हुनेछ । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालयले जमिन अधिग्रहणका लागि अर्काे सार्वजनिक सूचना प्रकाशित गर्नेछ । यतिबेला आयोजनाले प्रारम्भिक अधिकारी तोकेर काम अघि बढाउनेछ ।‘एक हप्तापछि जग्गा कारोबार तथा कित्ता काटमा रोक लगाउने तयारी भैरहेको छ’, आयोजनाका योजना अधिकृत सापकोटाले भने । कित्ता काट, कारोबार र भवन निर्माणमा रोक लगाएको निर्णय नगरपालिका, मालपोतमा पठाईनेछ ।

शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले बैशाख १३ गते बाहिरी चक्रपथको सतुंगल–चोभार क्षेमा पर्ने ६ दशमलब ६१८ किलोमिटर खण्डको डिपिआर स्विकृत गरेका थिए । पाइटल प्रोजेक्टका रुपमा अघि सारिएको यो खण्डको अनुमानित लागत ६ अर्ब ३० करोड रुपैंयाँ रहेको छ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । सो खण्डमा ८ हजार ९ सय ५६ रोपानी जमिन एकिकरण हुँदैछ । त्यसमा १३ हजार ७ सय ६४ कित्ता जमिन परेको छ ।
|
बाहिरी चक्रपथमा ५० मिटरको आधुनिक सडक हुनेछ । सो खण्डमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमीटर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.